परिचय
प्रदेश नं १ मा कृषि क्षेत्रले प्रदेशको कुल ग्राह्यस्थ उत्पादनमा ३६.७५% योगदान गर्दछ भने राष्ट्रिय कृषिको कुल ग्राह्यस्थ उत्पादनमा २१.५% योगदान रहेको छ । देशमा कृषि गरिएको कुल जग्गा ३०,९१,००० हेक्टर मध्ये यस प्रदेशमा ७,१५,४२७ हेक्टर करिब २३.११% जग्गामा खेती गरिएको र बाँकी ८५,०१७ हेक्टर खेतीयोग्य जमिन रहेको छ जसबाट दालबालीको खेती बिस्तारको लागि निकै सम्भावना देखिन्छ । यस प्रदेशको कृषि क्षेत्रमा उपयोग औषत कृषि जमिन प्रति व्यक्ति जम्मा ०.६६ हेक्टर मात्र छ । प्रदेश अर्थतन्त्रमा व्यवसायिक कृषिको हिस्साजम्मा ८% रहेको छ।यस प्रदेशको मुख्य बालीको रुपमा धान, मकै, गँहु, अलैँची, अदुवा, चिया आदि हुन् भने एकमुष्टमा दलहनबालीको पनि खाद्यान्न उपलब्धतामा महत्वपूर्ण भूमिका छ ।
राष्ट्रिय लक्ष्य “समृद्ध नेपाल सुखी नेपाली” हासिल गरी प्रदेशको सोच “स्वच्छ, सुखि र सम्मुनत प्रदेश” लाई वास्तविकतामा बदल्नु नै यस प्रदेश को मूलभूत उद्देश्य रहेको छ । ती लक्ष्य प्राप्तिको लागि कृषिको उत्पादन र उत्पदकत्व वृद्धि नीति अवलम्बन गरेर यसका निम्ति कृषिको व्यवसायीकरण, औद्योगिकिकरण, विविधिकरण र आधुनिकिकरण गर्ने र कृषकको लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य, कृषि वस्तुको बजारमा सहज पहुँचको व्यवस्थालाई सही किसिमले प्रदेशले आफ्ना कार्यक्रम तथा क्रियाकलाप अघि बढाउँदै लाने कुरा प्रदेश सरकार, प्रदेश योजना आयोग, प्रदेश नं. १, विराटनगर, नेपालको प्रथम आवधिक योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१), २०७६ मा पनि निर्दिष्ट छ ।
दलहनबाली अर्थात कोसेबाली भन्नासाथ चिनिने यो विभिन्न दलहनजातका बालीहरु जस्तै मुसुरो, चना, रहर, मास, केराउ, गहत, भटमास, मुगं, राज्मा, मस्र्याङ्ग, खेसरी, बकुल्ला, सिमि, खेसरी महत्वपूर्ण मानिन्छ र प्रदेश नं. १ मा दहलन बालीको क्षेत्रफल ३६२२८ हेक्टर ४०,४६९ मे.टन उत्पादन (आ.व. २०७४/७५) छ । दालजातको बालीहरुको जरामा पाइने गिर्खाले हावाबाट नाईट्रोजन शोषण गरेर माटोको उर्वराशक्ति बढाउने अथवा सुधार्न मद्दत गर्दछ । यो कोसेबालीको सेवनले उच्च रत्तचाप तथा मुटुको रोगका बिरामीलाई निकै फाइदा पुर्याउँदछ । यसको विभिन्न परिकारहरु दालमोठ, भुजिया, पापड, दाल आदि बजारमा उपलब्ध छन् । खाद्य तथा कृषि संगठन (FAO,2106) को अनुसार संसारमा दालजातको खाद्य पदार्थबाट मात्रै शरिरको पोषण आहारको आवश्यक मापदण्ड पूरा हुने र पोषणको शक्ति आधार मानेर आहारमा समेटिनाले हाम्रो खाद्य र पोषण असुरक्षाको समस्या समाधान हुने एकमात्र उपाय भनेर उल्लेख गरिएको छ । त्यसैले प्रदेश नं. १ को औषत न्यूनतम क्यालोरी प्राप्त (२५३६) देखि खाद्य तथा पोषण सुरक्षाका समस्या र चुनौतीहरुलाई अवसरको रुपमा परिणत गर्न सक्दछ ।
माटोको सुधार र प्रांगारिक खेतीको आधार
प्रदेश नं. १ मा हाल कृषि जमीनहरुमा प्राङ्गारिक तत्वको अभाव देखिन्छ भने रासायनिक मलको बढ्दो प्रयोगले गर्दा माटोको उर्वराशक्ति घट्दो स्थितिमा छ । अम्लीयपन बढेको र माटोमा आवश्यक जैविक विविधता र सूक्ष्मजीवको क्रियाकलाप न्यून हुँदै गई समस्टीगतरुपमा नै उत्पादन पद्धतिमै असर पर्न गएको छ । जथाभावी अत्याधिक असन्तुलित खाद्यतत्वको प्रयोग एवं अनावश्यकरुपमा कृषिमा अन्य रसायनहरु प्रयोग गर्ने गरेका कारण उत्पादन लागत वृद्धि भएको छ । केही खाद्यतत्वको प्रयोग जस्तै युरियाको अत्याधिक प्रयोग गर्दा माटोमा निहित प्राकृतिक खाद्यतत्व सन्तुलन खलबलिन जान्छ र पछि गएर केही अति आवश्यक सूक्ष्म तत्वहरु तथा सहायक खाद्य तत्वहरुको माटोमा कमी हुँदै जान्छ । रासायनिक मलको बढी प्रयोगले शुरुका केही वर्ष उत्पादन वृद्धि हुन्छ तर पछि गएर उत्पादकत्व घटदै जान्छ । दीगो उत्पादन र उत्पादकत्व हराउँदै समस्याहरु वृद्धि हुदै गएको जनगुनासो र ह्रास उत्पादकत्वको तथ्याङ्कले पनि प्रष्टाउँछ ।
यो परिस्थितिमा प्राङ्गारिक खेती प्रोत्साहनको लागि प्रदेश सरकारको कार्यक्रमहरु (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर कार्यक्रम, २०७६/७७) प्राप्तिको निम्ति जैविक मलखादहरुको प्रयोग अति आवश्यक पर्दछ जसले प्राकृतिक सन्तुलन कायम राखि माटोको उर्वरापन कायम राख्छन् र दीगो उत्पादन र उत्पादकत्व हासिल गर्न सहयोग पुग्दछ । यस सन्दर्भमा कोसेबाली लगाई माटोको उर्वरापन वृद्धि गर्न आवश्यक बनेको छ । हाल माटोमा खाद्य संचय गर्ने क्षमतामा ह्रास हुँदै गएको स्थितिमा कोसेबालीको प्रयोग बढाई माटोको उर्वराशक्ति कायम गर्ने, मानव एवं पशु पौष्टिक आहारमा अभिवृद्धि गर्न आवश्यकता देखिएको छ । दीर्घकालिन रुपमा नै कोसेबाली महत्वपूर्ण हुने हुँदा यसको प्रयोग बढाउन आवश्यक देखिएको छ। खास गरी अन्न बालीमा आधारित उत्पादन पद्धतिमा अन्नबाली पछि बाली चक्र अपनाई कोसेबाली लगाउँदा यसको बाली र जात हेरी प्रति हेक्टर ७०–१८० के.जी. सम्म जरामा नाईट्रोजन स्थिरिकरण गर्न सक्दछ भन्ने वैज्ञानिक तथ्य रहेको छ । यस अलावा पशु आहारा र हरियो मलको रुपमा महत्वपूर्ण हुन्छ ।
खाद्य तथा पोषणको महत्व
मानिसको शरीरलाई श्वेत सार (कार्बोहाइड्रेट), चिल्लो अथावा बोसो (फ्याट), अन्न सार (प्रोटिन), खाद्योज (भिटामिन) तथा खनिज पदार्थहरुको आवश्यकता पर्दछ । शरीरलाई आवश्यक विभिन्न थरीका खनिज तत्वहरुः क्याल्सियम, कार्बन, म्याग्नसियम, फोस्फोरस, पोटासियम, सोडियम, सल्फर, क्लोरिन, आइरन, कपर, जिंक आदी र त्यसैगरी खाद्योजमाः ६ ओटा विभिन्न थरीका खाद्योज (भिटामिन) हरु भिटामिन “ए’’ “बी’’ “सी’’ “डी’’ “ई’’ “के” आदि हुन् । हाम्रो शरीरलाई कार्बोहाइड्रेटबाट छिटो खर्च गर्ने शक्ति प्राप्त हुन्छ भने त्यसैगरी मान्सपेशीले धेरै बललाई प्रयोग गर्नको निम्ति प्रोटिनको महत्व हुने गर्छ । (दलहन वा दालबाली) कोसे बालीहरुमा पोषिलो तत्व पाउनुको साथै करिब २० देखि २५ प्रतिशतसम्मको सजिलैसँग पचाउन सक्ने प्रोटिन हुने भएकाले पनि “गरीब मानिसको मासु” , “धनी मानिसको तरकारी” अथवा “तरकारी प्रोटीन”को रूपमा लोकप्रिय छ । यो विभिन्न रोगहरु विरुद्ध रक्षा गर्ने आहार मानिन्छ । यसले प्रदेशको खाद्य तथा पोषण सुरक्षाको लागि महत्वपूर्ण योगदान दिन्छ । धैरै जस्तो मानिस प्रायः २४ महिना भन्दा मुनिका बालबालिका, किशोर किशोरी, गर्भवतीतथा सुत्केरी महिलामा सन्तुलित आहारको कमिको कारणले हुने कुपोषण एउटा जटिल समस्याको रुपमा यस प्रदेशमा बिद्यमान स्थिति रहेको छ । उच्च पहाडी, दुर्गम, पिछडिएको, अशिक्षित र भित्री मधेश तराईको केही क्षेत्रमा मानिसका लागि चाहिने दैनिक औषत शक्ति क्यलोरी (२५३६) ताप, प्रोटीन, भिटामिन तथा खनिज पदार्थहरुको कमीका कारणले धेरै समस्या छन् तसर्थ दालबालीको महत्व प्रसार र कार्यक्रमबाट उत्पादन क्षेत्र, उत्पादकत्व वृद्धी गरी सामाजिक जनचेतना र आर्थिक तवरबाट आयस्तर वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षा हासिल गर्न सकिन्छ ।
तालिका: प्रदेश नं. १मा खेती गरिने प्रमुख दालबालीहरुः
क्र.स
बालीको नाम
बालीको गुण
सिफारिस जातहरु
१
मुसुरो
सामान्य रुपमा मुसुरो सानो, हरियो तथा हांगा भएको डांठ हुने ४० से. मि. अग्लो र यसको कोसा १२ मि.मि. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो लामो अवधिको १४०–१५० दिने हिउँदे बाली हो।
सिन्दुर, सिम्रिक, शिशिर, सिमल, शिखर, खजुरा १, खजुरा मुसुरो २, शितल, महेश्वर भारती, सगुन, खजुरा, मुसुरो ३, खजुरा मुसुरो ४
२
चना
सानो, हरियो तथा फिजिएक हांगा भएको डांठ हुने ५०– ६० से. मि. अग्लो र यसको कोसा ५ मि.मि. अण्डा आकारकोटुप्पा तिर चुच्चो परेको हुन्छ । यो लामो अवधिको १३०–१४५ दिने हिउँदे बाली हो।
धनुषा, राधा, सीता, कोशेली, कालीका, तारा, अवरोधी
३
रहर
रहर अग्लो, हरियो तथा ठुला हांगा भएको डांठ हुने १००– २०० से. मि. अग्लो र यसको कोसा २० मी. मी. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो लामो अवधिको २०० (२६५ दिने बाली हो।
रामपुर अरहर १, बागेश्वरी
४
मास
मास सानो, हरियो तथा हांगा भएको डांठ हुने ६० –७० से. मि. अग्लो र यसको कोसा १५ मि.मि. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो छोटो अवधिको५०–६५ दिने वर्षे बाली हो।
कालु, रामपुर मास, खजुरा मास १, पुसा वैशाखी, कल्याण, प्रतिक्षा, प्रतिज्ञा
५.
केराउ
केराउहरियो तथा कलिलो हांगा भएको ७०–१५० से. मि. अग्लो भुईमै झाङ्ग हुने र यसको कोसा २० मि.मि. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो मध्यम अवधिको ४०–९० दिने हिउँदे बाली हो।
सर्लाही आर्केल, न्यू लाईन, सिक्कमे
६
मुगं
सानो, हरियो तथा हांगा भएको डांठ हुने ६० से. मि. अग्लो र यसको कोसा १५ मि.मि. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो छोटो अवधिको ६०–७० दिने हिउँदे बाली हो।
पुषा वैशाखी, कल्याण, प्रतिक्षा, प्रतिज्ञा
७
बकुल्ला
सामान्य रुपमा बकुल्ला कडा हरियो बर्गिकृत क्रस सेक्सन डांठ हुने, बोटको उचाई५० देखि १५० से. मि. अग्लो र यसको कोसा ८ –१० से.मि. लामो हुन्छ । यो ८० –१०० दिने हिउँदे बाली हो।
स्थानीय जात
८
सिमी
हरियो तथा हांगा भएको डांठ हुने ६० –२५० से. मि. अग्लो र यसको कोसा २५ मि.मि. लामो टुप्पा तिर चुच्चो परेको हुन्छ । यो छोटो अवधिको ४६ –७५ दिने बाली हो।
त्रिशुली सिमी, झांगे सिमी, मन्दिर
९
बोडी/तनेबोडी
हरियो तथा हांगा भएको डांठ हुने ६० –२०० से. मि. अग्लो र यसको कोसा २० –१५० से.मि. लामो परेको हुन्छ । यो मध्यम–लामो अवधिको ६०–१०० दिने बाली हो।
बोडीः आकाश, प्रकाश, सूर्य, डवल हार्भेष्ट, मालोपाटन १, गाजले बोडी
तनेबोडीः खुमल तने, सर्लाही तने, चन्द्रा ०४१, कर्मा स्टीकलेस, एनओ ३२४, सीला ४६४
दलहन बालीहरुको उत्पादन, आयात र निर्यात अवस्था
नेपाल सरकार, कृषि तथा पशुपछीं विकास मन्त्रालय, तथ्याङ्क प्रकाशन, २०७५ को अनुसार आ.व. २०७४र७५ मा प्रदेश नं. १ मा दलहनबालीको समग्रमा करिब ३६२२८ हेक्टर क्षेत्रफल, ४०,४६९ मे.टन उत्पादन र औशत उत्पाकदत्व १.११ मे.टन प्रति हेक्टर रहेको छ । त्यसैले प्रदेश नं. १ क्षेत्र विस्तार गर्ने सम्भावना र अवसर दुवै देखिन्छ । जसबाट उत्पादन वृद्धि गरी निर्यात विविधकरण प्रवर्द्धनमा लाग्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्यको लागि कोशेढुङ्गा सावित हुन सक्छ ।
तालिका: प्रदेश नं. १ मा दालबालीहरुको उत्पादन अवस्था आ. व. २०७५/७
क्र.सं.जिल्लाक्षेत्रफल (हेक्टर)उत्पादन (मे. टन)उत्पादन (मे टन/हेक्टर)
1ताप्लेजुङ3683370.92
2संखुवासभा1,2551,0650.85
3सोलुखुम्बु3053271.07
4पाँचथर2,0742,2221.07
5ईलाम1,4211,5201.07
6तेह्रथुम1,6191,7851.1
7धनकुटा1,3881,4121.02
8भोजपुर5214630.89
9खोटांग4,6084,6871.02
10ओखलढुंगा1,3261,4701.11
11उदयपुर2,1012,1361.02
12झापा7,6829,7471.27
13मोरङ3,7144,4241.19
14सुनसरी8,0859,3131.15
जम्मा36,46840,907
स्रोत कृषि डायरी २०७७-३५
प्रदेश नं. १ मा दलहन बाली एउटा अन्तरप्रदेश व्यापार सम्भावना भएको वस्तुको रुपमा महत्वपूर्ण स्थान लिन सक्छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय आ.व. २०७३/७४ को अनुसार मुसुरो नेपालमा खेती गरीने कोसेबालीहरुको तुलनामा ६७% क्षेत्रफल २०६९६९ हेक्टर साथै ६७% उत्पादन २५४३०८ मे.टन ओगटेको र औसत उत्पादन १.२३ मे.टन रहेको जनाउँछ । प्रमुख निर्यात योग्य कृषि उत्पादनको रूपमा मुसुरोको दाल नेपालका लागि विदेशी विनिमय आम्दानीको नियमित स्रोत रहेको छ । दालको खेती बढ्दो छ र यसको देश र विदेशमा यसको ठूलो सम्भावना रहेको छ । अन्य दालहरूमध्ये नेपाली मुसुरोको दाल अन्तर्राष्ट्रिय बजारमा ठूलो माग छ । बंगलादेश, सिंगापुर, श्रीलंका, जर्मनी, कोरिया, बेलायत, इन्डोनेसिया यसको प्रमुख निर्यात बजारहरू हुन्छ ।
रणनीतिक मार्ग चित्रहरु
प्रदेश नं. १ को कृषि क्षेत्र विकासको लागि प्रदेश आवधिक योजनामा उल्लेखित अपेक्षित लक्ष्य हासिल गर्नुको निम्ति दालबालीको सम्भावना हरुलाई प्रादेशिक रणनीति र कार्यनीति कार्यान्वयनको बेला मार्ग चित्रण गरी समावेश गर्न अत्यन्त आवश्यक छ । भू–उपयोग नीति अनुरुप कृषि जमिनको संरक्षण र उपयोग गर्ने रणनीतिबाट चक्लाबन्दी खेतीको लागि दलहनबालीको प्रोत्साहन गर्न सकिन्छ । त्यसै गरी कृषिको व्यवसायिकरणमा निजी क्षेत्र, सहकारी तथा अन्तरसरकार समन्वयन र सहकार्य गर्ने रणनीतिबाट दलहनबालीको उत्पादन, भण्डारण र बजारीकरणमा किसानको सामूहिक स्वामित्व प्रोत्साहन गर्न सकिन्छ । प्राङ्गारिक खेती, आधारभूत खाद्यवस्तु तथा तुलनात्मक लाभ भएका बाली र पशुपक्षी उत्पादनमा वृद्धि गर्ने रणनीतिबाट बहु–बाली, नगदे बालीअन्तर्गत दहलनबालीको विशेषउत्पादन अभिवृद्धि सम्बन्धी कार्ययोजना निर्माण गरी लागू गर्ने । कृषक र कृषि सम्बद्ध निकायको क्षमता विकास एवम् प्रविधि रणनीतिबाट उत्पादकत्व वृद्धिका लागि कृषि अनुसन्धानबाट प्राप्त उपलब्धिलाई कृषक समक्ष पुर्याई नवीन प्रविधिको उपयोगमा दलहनबालीमा कृषकको क्षमता अभिवृद्धि गर्ने । कृषि एवं पशुपक्षी उद्योगको संरक्षण, विकास र विस्तार गर्ने रणनीतिबाट दालजातमा आधारित साना र मझौला उद्योगको लागि सुलभ कृषि कर्जाको व्यवस्था गर्ने । यसरी प्रदेश नं. १ मा विभिन्न रणनीति अवलम्बनगरेर दालबालीहरुको अनुसन्धानको र प्रसारको क्षेत्र विकास विस्तार मार्गचित्रबाट उत्पादन र उत्पदकत्व वृद्धि सकिन्छ ।
सन्दर्भ सामग्रीहरु
१) नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, तथ्याङ्क प्रकाशन, २०७५
२) नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभाग, २०७५
३) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर कार्यक्रम, २०७६/७७ ४) प्रदेश सरकार, प्रदेश योजना आयोग, प्रदेश नं. १, विराटनगर, नेपाल प्रथम आवधिक योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१), २०७६
४) Statistical Information on Nepalese Agriculture, 2012/13.
५) राष्ट्रिय योजना आयोग, बहु–क्षेत्र पोषण योजना २ ( २०१८–२०२२), २०१८
६) Nutritional Benets of Pulsesin Nepal, FAO, 2016
७) Food composition for Nepal= Department of food technology and quality control DFTQC, MOAD 2012९) प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र, २०७६ १०) नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, निर्यात प्रवद्र्धन आयत प्रतिस्थापन र अन्तरप्रदेश व्यापार सम्भावना भएका वस्तु तथा सेवाहरुको प्रोफाइल प्रदेश नं. १