परिचय
बेबी कर्न मकैको बोटबाट प्राप्त हुने अत्यन्तै र हालसालै प्रख्यात भइरहेको तरकारी हो । यसलाई शिशु मकै र नानी मकै पनि भन्ने गरिन्छ । बेबी कर्न मकैको घोगाको त्यो अवस्था हो, जुन परागसेचन र गर्भाधान हुनुअघि नै कलिलो अवस्थामा भाँचिन्छ । विश्वमा बेबी कर्न निर्यात गर्ने प्रमुख देशहरु थाइल्यान्ड, ताइवान, ग्वाटेमाला, दक्षिण अफ्रिका, जाम्बिया तथा चीन हुन् । यसैगरी अमेरिका, जापान, हङकङ, सिंगापुर, अष्ट्रेलिया, न्यूजल्याण्ड, मलेसिया, साउदी अरेबिया, क्यानाडा र युरोपियन देशहरु विश्वमा बेबी कर्न आयात गर्ने प्रमुख देशहरु हुन् । यस मकैको खेती प्रविधि साधारण मकै जस्तै हुन्छ । तर मकै भाँच्ने समय चाहिँ फरक हुन्छ । बेबी कर्न लगभग रोपेको २ महिनामा भाँच्नको लागि तयार हुन्छ भने साधारण मकैलाई ४ महिना लाग्छ । बेबी कर्नमा रेसाहरु र फोसफोरसको मात्रा धेरै अनि चिल्लो पदार्थ र कार्भोहाइड्रेट मात्रा कम भएकाले पोषणतत्वको दृष्टिकोणले एकदमै महत्वपूर्ण मानिन्छ । विशेषतः मुटुरोगी, मधुमेह, गर्भवती महिला तथा मोटोपन भएका व्यक्तिहरुले सेवन गर्दा स्वास्थको लागि राम्रो भएको पाइन्छ । यसमा प्रति १०० ग्राममा कार्बोहाइड्रेट ८.२ मि.ग्राम, चिल्लो पदार्थ ०.२ मि.ग्राम, फोसफोरस ८६ ग्राम तथा भिटामीन ए, भिटामीन सी, फोलिक एसिड, क्यालसियम जस्ता पोषणतत्वहरु पाइन्छ । नेपालमा प्रत्येक स्टार होटल, विशिष्ट श्रेणीका रेष्टुरेण्टहरु, उच्च घरानाका व्यक्तिहरुको घरमा, भोजभतेरमा, पार्टी मनाउँदा र साना ठूला जमघटमा अन्य तरकारीसँग र सलादको रुपमा बेबी कर्नको उपभोग गरिन्छ । नेपालमा खपत हुने बेबी कर्न विदेशबाट आयात गरिन्छ । बर्षेनी करिब रु २ देखि ३ करोड जतिको आयात गरिएको पाइएको छ भने हरेक डिपार्टमेन्टल स्टोरबाट दैनिक करीब ५० देखि १०० वटासम्म डिब्बाहरु बिक्री हुने गर्दछन् । नेपालमा भने बेबी कर्नको व्यवसायिक खेती गरेको पाइँदैन तर व्यवसायिक खेतीको प्रवल सम्भावना बोकेको छ । बेबी कर्न खेतीबाट नानी मकै मात्र नभई गाईवस्तुका लागि हरियो चारा पनि उत्पादन हुन्छ । राम्रो खेतीबाट करीब ५५–११० क्विन्टल भुत्लासहितको बेबी कर्न, ११–१९ क्विन्टल भुत्लारहित खोया मकै र १५०–४०० क्विन्टल हरियो चारा एक हेक्टर बेबी कर्नबाट उत्पादन गर्न सकिन्छ ।
हावापानी
साधारण मकै जस्तै बेबी कर्नलाई अलि बढी न्यानो हावापानी चाहिन्छ । यसलाई उपयुक्त तापक्रम २१ देखि ३२ डिग्री सेल्सियस (डि.से.) र वर्षाको हकमा १५ देखि २० डि.से. उपयुक्त मानिन्छ ।
माटो
गहिराइ भएको, उपयुक्त निकास भएको, चिस्यान प्रशस्त भएको, उपयुक्त तथा सन्तुलित मात्रामा खाद्य तत्व समावेश भएको, उपयुक्त भौतिक एवं रासायनिक गुणहरु भएको माटो राम्रो मानिन्छ । सामान्यत सबै प्रकारका माटोमा बेबी कर्नको खेती गर्न सकिन्छ । तर चिल्लोर बलौटे माटोजसकोपि.एच.६–७ रहको माटो उपयोगी हुन्छ।
जमिनको तयारी
हलो अथवा ट्याक्टरको सहायताले जोत्ने, अघिल्लो बालीको डाँठ, ठुटा सबै माटोमा मिलाउने । त्यसपछि पुनः अर्को पटक खनजोत गरेर माटोलाई हल्का बनाउनु पर्दछ ।
जातको छनोट
छिट्टै पाक्ने, धेरैघोगा लाग्ने, मध्यम उचाइ भएको एकल क्रस संकर (Single cross hybrid) मकै छान्नुपर्छ । वर्षामा ७०–७५ दिन, बसन्त याममा ४०–४५ दिन र हिउँदमा १२०–१३० दिनमा मकैको जुँगा देखा पर्ने जातहरु बेबी कर्न खेतीका लागि छनोट गर्नपर्छ । नेपालमा बेबी कर्नका लागि भनेर कुनै जातहरुको विकास गरिएको छैन । भारतीय जातहरुः B.L.-42, H.M.-4, प्रकाश र नेपाली जात अरुण–२, रामपुर कम्पोजिट, RAM-1, RAM-3, RAM-4 प्रयोग गर्न सकिन्छ ।
रोप्ने समय, दुरी तथा बीउ दर
सिंचाईको स्रोत भएको ठाउँमा वर्षै भरी खेती गर्न सकिन्छ । हिउँदमा असोज–कार्तिक, बसन्तमा माघको तेस्रो हप्तादेखि फागुनको दोस्रो हप्ता र बर्खामा जेठको अन्तिमदेखि असारसम्म लगाउन सकिन्छ । बेबी कर्न रोप्दा लाइनमा रोप्नुपर्छ । लाइनमा रोप्दा लाइनदेखि लाइनको दुरी ६० से.मी. र बोटदेखि बोटको दुरी १५ से.मी. हुनुपर्छ । सामान्यता ६००–८०० ग्राम मकैको बीउ प्रति कठ्ठा आवश्यक पर्दछ । लाइनमा रोप्दा कम लाग्दछ भने हातले छर्दा अलिक बढी बीउको आवश्यकता पर्दछ ।
मलखादको प्रयोग
साधारण मकै जस्तै बेबी कर्नमा पनि प्रति कठ्ठा जग्गामा ५०० के.जी. राम्रोसँग कुहिएको गोबरमल वा कम्पोष्ट मल र ८०० ग्राम जिंक सल्फेट रोपाइको १५ देखि २० दिन अगाडि खेतमा हाल्नुपर्दछ । रसायनिक मलको हकमा माटो जाँचको आधारमा मलको प्रयोग गर्नुपर्दछ । १८०: ६०:४० के.जी. ना.फ.पो.प्रति हेक्टरका दरले प्रयोग गर्नका लागि सिफारिस गरिएको छ अर्थात प्रति कठ्ठा ११.३५ के.जी. युरिया, ४.३४ के.जी. डि.ए.पी. तथा २.२२ के.जी. म्युरेट अफ पोटास प्रयोग गर्नुपर्दछ । सिफारिस मात्राको पूरै भाग डि.ए.पी., पोटास र २० प्रतिशत युरिया बाली लगाउने बेलामा, २० प्रतिशत ४ देखि ६ पाते बिरुवाको अवस्थामा, ३० प्रतिशत ८ पाते अवस्थामा र बाँकी ३० प्रतिशत युरिया धान चमर आउने बेलामा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
सिंचाई व्यवस्थापन
हिउँद र बसन्ते सिजनमा लगाइने मकैलाई रोपाई पूर्व सिंचाई दिनु पर्दछ । माटो सुख्खा भएमा सिंचाईको आवश्यकता पर्दछ र सिंचाई गरी खनजोत पश्चात मकै रोप्नु उत्तम हुन्छ । सामान्यता मकै बाली घुँडासम्म अग्लो भएको अवस्था, जुँगा निस्कने अवस्थामा सिंचाई दिनुपर्छ ।
गोडमेल तथा झारपात व्यवस्थापन
बेबी कर्न खेतीका लागि दुई पटकसम्म गोडमेल गर्नुपर्छ । बिरुवा उम्रेको २० देखि २५ दिन पछाडि पहिलो गोडाइ र दोस्रो गोडाइ पहिलो गोडाइको ३ हप्तापछि गर्नुपर्छ र उकेरा दिनु उपयुक्त हन्छ ।
रोग तथा कीरा व्यवस्थापन
कीराको हकमा माटोमा बसेर क्षति पुर्याउने कीराहरु फेदकटुवा, खुम्रे आदि प्रमुख मानिन्छन् । यी कीरा नियन्त्रणका लागि राम्रोसँग पाकेको तथा पुरानो गोबर वा कम्पोष्ट मल प्रयोग गर्ने, कीराको माउलाई बत्तीको पासो बनाई मार्ने, गहिरो खनजोत गरी जोत्ने । जैविक विषादी मेटारिजियम एनिसोफिली १ के.जी.प्रति कठ्ठाका दरले माटोमा राख्ने । रासयनिक विषादीका हकमा क्लोरपाइरिफस १० इ.सी. २ मि.लि. प्रति लिटर पानीमा घोली प्रति कठ्ठा २० देखि २५ लिटरको घोलले माटो भिज्ने गरी स्प्रे गर्ने । डाँठ तथा गुवोभित्र बसेर खाने गवारो कीरा र अमेरिकन फौजी कीरा मुख्य हुन् । यी कीरा नियन्त्रणका लागि क्लोरपाइरिफस ३० इ.सी. १.५ देखि २ मि.लि. प्रति लिटर पानीमा मिसाईछर्ने। अमेरिकन फौजी कीराको लागि माहेनी पासोबनाएर २ देखि ३ वटा पासो प्रति कठ्ठाराख्ने। रोगहरुको हकमा रोग अवरोधक जातहरुको प्रयोग, बीउ उपचार, बाली चक्र अपनाउने, रोग बिरुवाको अवशेषहरुलाई गाड्ने, सन्तुलित मात्रामा माथि उल्लेखित मलको प्रयोग गर्ने, पानी निकासको उचित प्रबन्ध गर्ने तथा रासायनिक विषादी प्रयोग गर्नु परेमा २ ग्राम मेन्कोजेव वा टिल्ट १ मि.ली. प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
धानचमरा हटाउने
मकैमा परागसेचन र गर्भधान नहोस् भनेर मकैको बोटबाट धानचमरा हटाइन्छ । बेबी कर्नखेतीमा योकाम अत्यन्त महत्वपूर्ण छ । धानचमरा बाहिर निस्किएको २–३ दिनभित्र र घोगामा जुँगा बाहिर नआउँदै हटाउनुपर्छ । देब्रे हातले धान चमराभन्दा तल झुण्डपात भएको ठाउँमा पूरा मुठीले समाती दाहिने हातले सम्पूर्ण धान चमरालाई समाती माथी तान्नपर्छ । धानचमरा झुण्पातमा नछोपिएको समयमा धानचमरा निकाल्दा पातहरु चुडिदैन ।
मकै भाँच्ने समय
घोगामा ३–४ से.मी. जुँगा आएको १ देखि ३ दिन भित्र (रोपेको लगभग ५० दिनभित्र) हातले मकैको बोटबाट घोगा भाँच्नुपर्छ । घोगाको लम्बाई ६ देखि ११ से.मी. भएकोले राम्रो बजार पाउँछन् । मकै भाँच्दा भुत्ला सहित भाँच्नुपर्छ जसले गर्दा मकै छिट्टै बिग्रिन्न । बर्खे र बसन्ते मकै १ दिनको फरकमा भाँच्नुपर्छ भने हिउँदे मकै २–३ दिनको फरकमा भाँच्न सकिन्छ ।
भण्डारण तथा प्रशोधन
भुत्लासहित बेबी कर्नलाई रेफ्रिजिरेटरमा एक हप्तासम्म भणडारण गरेर राख्न सकिन्छ । छोटो समयमा बिग्रिने हुनाले बेबी कर्नलाई सिसीमा खाद्य संरक्षकहरुको प्रयोग गरी बजारमा लगिन्छ ।
सन्दर्भ सामग्रीहरु
1. Bacterial Stalk Rot of Maize. -ldlt pNn]v gePsf]_ plantix: https://plantix.net/en/library/plantdiseases/300035/bacterial-stalk-rot-of-maize af6 NofPsf]
2. Cultivation of infant maize (baby corn). -ldlt pNn]v gePsf]_ Agriculture Department, Uttar Pradesh, India: http://upagripardarshi.gov.in/staticpages/RabiBabyCorn.aspx af6NofPsf]
3. DS Pathik. (2002). Maize Research Achievements and Constraints.Sustainable Maize Production Systems for Nepal: Proceedings of a Maize Symposium held, December 3-5, 2001, -kfgfx? 7- 11). Kathmandu, Nepal: NARC and CIMMYT.
4. Field Crops IPM. -ldlt pNn]v gePsf]_ Purude University: https://extension.entm.purdue.edu/eldcropsipm/insects/cornwhitegrubs.php af6 NofPsf] 5. Integrated Crop Management. -ldlt pNn]v gePsf]_ IOWA STATE UNIVERSITY: Extension and Outreach: https://crops.extension.iastate.edu/corn/production/management/growth/ yield.html af6 NofPsf]