परिचय
वातावरणीय नास नपुर्याई सामाजिक परिवेश र भौगोलिक अवस्थासँग मेल खाने तरिका अपनाउँदै वातावरणीय हिसाबले आफू र आफ्ना सन्ततिको स्वास्थ्यको हिसाबले अत्यन्त महत्वपूर्ण रहेको झोल मल बोटबिरुवालाई छिटो र छरितोसँग बढाउन, मजबुत बनाउन, उत्पादन शक्ति बढाउन, पौष्टिक तत्वको साथै रोग कीराको प्रकोपबाट समेत बचाउने काम गर्दछ । सामान्यतयाः विभिन्न किसिमका अमिलो, तितो, टर्रो स्वाद भएका बोटबिरुवाहरु जस्तै बकाइनो, निम, तितेपाती, असुरो, बोझो, सुर्ती, केतुके, बनमारा, लहरे तरकारीका पातहरू तथा गाईभैंसीको पिसाब, गोबर प्रयोग गरी बनाइएको मललाई झोल मल भनिन्छ । झोल मल वा जैविक विषादीले बिरुवालाई खाद्य तत्व दिनुका साथै रोग र किराको प्रकोपबाट बचाउने हुँदा स्वास्थ्य बिरुवा उत्पादन गर्न मद्दत पुर्याउँछ । जसले बढ्दो रासायनिक मल प्रयोगमा कमी ल्याई त्यसले पारेको नकारात्मक असरलाई न्यूनीकरण गर्दछ । झोल मल वा जैविक विषादी प्रयोग गर्दै जाँदा त्यसले तत्काल उत्पादन कम गरे तापनि मानव स्वास्थ्य, वातावरण स्वास्थ्य साथै माटोको उर्वरा शक्तिमा सुधार देखिन्छ । यद्यपि यसको कडा गन्ध र स्वाद भएतापनि यो नै प्राङ्गारिक कृषिको आधार हो । बालीमा विषादीको प्रयोग गर्ने क्रम बढ्दो छ । बजारमा पाइने विषादीको प्रयोगबाट हुने दीर्घकालीन असरको बारेमा जनचेतना अभाव छ । हाम्रो नेपाली समाजमा अत्यन्त धेरै मात्रामा रासायनिक मलको प्रयोग गर्दै आउँदा त्यसमा भएको युरियाले केही समयको लागि उत्पादन त बढाउँछ तर मानव स्वास्थ्यमा असर देखिनु, माटोको उर्वराशक्ति कमजोर बनाउने जस्ता यी नकारात्मक प्रभाव पार्दै गएपछि किसानहरूले प्राङ्गारिक मल बढाउनका लागि उपलब्ध भएका वनस्पतिहरूबाट बनाइएका झोल मल तथा गोठेमल प्रयोग गर्दै आएको पाइन्छ । पहिले पहिले चाहिँ किसानहरूले कीरा मार्न भन्दै गाईवस्तुको पिसाबमा पानी मिसाएर प्रयोग गर्थे भने आजभोलि हाम्रै ओरिपरी पाइने बोटबिरुवा, गाईभैंसीको पिसाब, गोबर कुहाएर व्यवसायिक रुपमा प्रयोग गर्दै आएका छन् ।
उद्देश्य
कृषकहरूलाई उनीहरूकै खेतबारीमा एकीकृत गरी बालीनालीको रोग कीरा नियन्त्रण गर्ने व्यावहारिक, प्रयोगात्मक र खोजपूर्ण तरिकाहरू (झोल मल वा जैविक विषादी) अपनाएर नियमित रूपले बाली वातावरण प्रणालीको अवलोकन र समूह छलफल को आधारमा ठोस निर्णय लिएर तत्काल आएका समस्याहरुको समाधान निकाल्न दक्ष बनाउनु हो ।
आवश्यक सामग्रीहरु
झोल मल तयार गर्न चाहिने आवश्यक सामग्रीहरु हाम्रै गाउँठाउँमा उपलब्ध हुन्छ जसले माटोको उर्वरा शक्ति बढाउने काम गर्दछ । स्थानीय स्तरमा पाइने तितो, टर्रो, पिरो, अमिलो इत्यादि स्वाद आउने हरिया बोटबिरुवा जस्तै तितेपाती, निम, बकाइनो, असुरो, सुर्ती, प्याज, लसुन, सिस्नु, मेवाको पात, बनमारा, अदुवा, खिर्रो साथै काचों गोबर, खरानी, गाईवस्तुको गहुँत तथा पानी र आदि झोल मल बनाउन आवश्यक सामग्रीहरु हुन्। हामीलेकेही मात्रामा ई एम (EM)को पनि प्रयोग गर्नु पर्दछ जसले तयार गराउन राखिएको मललाई छिटो कुहाउन सहयोग गर्छ ।
झोलमलको प्रकार र बनाउने विधि
आवश्यकताको आधारमा, संरचनामा र प्रयोगको अनुसार ३ प्रकारको झोल मल तयार गरिन्छ ।
झोल मल १: गोबर, गाईभैंसीको मूत्र र पानी १:१:१ को अनुपातमा मिसाएर २ हप्ताभित्र प्रयोगका लागि तयार हुन्छ । घोल पानीको साथ १:३ अनुपातमा मिसिन्छ । विषादी किटहरुलाई नियन्त्रण गर्न मल र किटनाशक दुवैको रुपमा तयार गरेको यो घरेलु मल बोटबिरुवाको फेदमा खन्याइन्छ ।
झोल मल २: गाईभैंसीको मूत्र र पानी गरी १:१ को अनुपातमा मिसाइन्छ । मिश्रण २ हप्तामा प्रयोगको लागि तयारी हुन्छ । यसलाई १:३ को अनुपातमा पानीसँग मिसाइन्छ र बोटको पातमा स्प्रे गर्दै विभिन्न रोग र कीराको नियन्त्रण गर्दछ ।
झोल मल ३: सिस्नु, तितेपाती, बनमारा, मेवाको पात जस्ता पिरो, टर्रो खालका बिरुवाको पात तथा डाँठहरू, १ लिटर जिवाणुको घोल, १० के.जी. बोटहरूको मिश्रण, १ के.जी. गोबर साथै गाईभैंसीको पिसाब ५ लि. जतिको घोल बनाउने । यो झोल मल ३ लाई कीरा, झुसिलकीरा, पात खाने कीरा जस्तालाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
आवश्यकता अनुसार विभिन्न सरसामग्रीहरू तथा वनस्पतिहरू जम्मा गर्ने, मसिनो बनाई काटेको वनस्पति, गोबर र खरानी राम्रोसँग मिसाई जुटको बोरा वा कपडामा बाँधेर पानी र गाईवस्तुको गहुँतको मिश्रणमा डुबाएर राख्नु पर्दछ । २० लिटर क्षमता भएको ड्रममा झोल मल बनाउँदा १० लिटर पानी र गहुँत को मिश्रण, १० के.जी जडिबुटी जन्य बनस्पति र १ के.जी गोबर साथै खरानी चाहिन्छ । गोबर र खरानीले सूक्ष्म जिवाणु उत्पादन गर्न सहयोग गर्दछ। ड्रमको पानी फिका चिया रंगको भएपछि र त्यसमा राखिएका बनस्पतिको पातको हरियोपन हटेपछि झोल मल तयार भएको बुझ्नु पर्दछ ।
ध्यान दिनुपर्ने कुराहरु
झोल मल बनाउने बेलामा हामीले स–साना कुराहरूमा ध्यान दिनुपर्छ । जस्तै मसिनो मसिनो पारेर भाँडामा राखिएका टुक्राहरूलाई राम्रो सँग चलाउने, भाँडोमा बिर्को लगाएर बिहानदेखि बेलुकासम्म घाममा राखिदिने गर्नुपर्दछ । यदि बिर्को राम्रोसँग नलागेर हावा पस्न पुग्यो भने ढुसी लागेर बन्दै गरेको मल पनि बिग्रिन्छ र ढुसीनासक रोगहरू लाग्न सक्छ । गर्मी समयमा यसरी बनाएको झोल मल १ हप्तामा प्रयोग गर्न योग्य हुन्छ भने जाडो समयमा २ हप्तामा प्रयोग गर्न योग्य हुन्छ । घाममा राखेर दिनैपिच्छे चलाउनु पर्दछ । यसरी तयार गरिएको विषादी एकदमै कडा हुने भएकाले यसको प्रयोग गर्दा सकेसम्म पञ्जा र माक्स लगाउने तथा खानेकुरामा हात नलग्ने जस्तो सतर्कता अपनाउनु पर्दछ अनि प्रयोग गरिसकेपछि राम्रो सँग प्रयोगमा आएका सामग्रीहरु धोएर राख्नुपर्छ ।
प्रयोग गर्ने विधि
- माटोमा चिस्यान कायम राख्ने र कीराबाट समेत बालीलाई बचाउने भएकाले यसलाई कीरा लाग्ने समयमा पटक–पटक छर्नु पर्दछ । झोल मल कलिलो एवं हुर्केको बिरुवा दुवैमा छर्न सकिन्छ । यसरी तयार गरिएको विषादी निकै कडा हुने भएकाले यसलाई प्रयोग गर्दा पानीमा मिसाएर मात्र प्रयोग गर्दा उत्तम हुनेछ । नर्सरीमा भएका र भर्खरै रोपेका ससाना बिरुवामा हाल्न १ लिटर विषादीमा १९ लिटर पानी हाल्नु पर्छ भने हुर्की सकेको बिरुवामा १ लिटर विषादी मा ४ लिटर पानी हाले पुग्दछ । रोग लागेका बालीमा मात्र विषादी हाल्दा पुग्छ । यदि फलहरू लागिसकेको बोट छ भने जरामा र फेदमा हाल्नु पर्दछ । बिरुवाले कीरा मार्ने विषादी जराबाट सजिलै लिन सक्छ । यसोगर्दा फलमा विषादीको गन्ध आउने र हेर्दा नराम्रो समेत देखिँदैन । घरेलु झोल मल हप्तामा एकचोटि नियमित रुपमा हाल्यौं भने बालीमा लाग्ने रोग र शत्रुकीरा सजिलै नास हुन सक्छ भने मित्रकीरालाई कुनै असर पर्दैन । यसरी तयार गरिएको घरेलु मललाई कसैले चिया मल या गीति मल पनि भन्ने गर्दछन् । जैविक विषादीले थोरै समयमै किसानहरूको जीवनमा धेरै प्रगति गरिरहेको छ ।
यसरी घर ओरिपरी नै सित्तैमा पाइने वस्तुको संकलन गरी विषादी बनाउने या बजारबाट पैसा तिरेर विषादी किनी माटो र मानिसको स्वास्थ्य बिगार्ने रोजाइ हाम्रो हातमा छ ।
फाइदा
- झोल मल प्रयोग गर्दा उत्साही तथा मेहनती कृषकहरूले स्थानीय सामाग्री साथै ज्ञान सीपको उपयोग गर्ने मौका पाउँछन् ।
- झोल मल आर्थिक दृष्टिकोणले सस्तो, सर्वसुलभ पाइने हुनाले यसमा कुनै पनि आपत्ति आउँदैन ।
- रासायनिक मलको प्रयोग गर्दा माटोलाई, वातावरणलाई तथा मानव स्वास्थ्यलाई हानिकारक गर्दथ्यो भने झोल मल प्रयोग गर्दा मानव स्वास्थ्यमा तथा वातावरणमा कुनै प्रकारको नकारात्मक असर नदेखाई मानव स्वास्थ्यमा होस् या वातावरणमा निकै नै फाइदाजनक परिणाम देखाउँछ ।
- यसले जैविक मल, जैविक विषादी दुवैको काम गर्दछ । m स्थानीय बोटबिरुवा तथा गाईभैंसीको पिसाब प्रयोग गर्न मिल्ने भएकाले कृषकहरूलाई टाढा टाढा धाउनु पर्दैन जसले गर्दा समयको बचत हुन्छ ।
- ई एम (शुक्ष्म जीवाणु)को प्रयोग गर्ने भएकाले मललाई छिटै कुहाउने काम गर्दछ ।
कृषि उत्पादन वृद्धि सँगै त्यसलाई स्वच्छ तथा स्वस्थ्य उपयोगी बनाउनु पनि प्रमुख कर्तव्य महसुस गर्दै जिम्मेवारीपूर्वक रासायनिक पदार्थको प्रयोग कम गर्दै सजकता अपनाउनु आजको आवश्यकता बनेको पाइन्छ ।
सन्दर्भ सूचीहरू
- पौडेल, सुलभ, आचार्य राजेंद्र (२०१६), आधारभूत बाली संरक्षण, हेरिटेज पब्लिकएण्ड डिष्ट्रिब्युटर्स प्रा.लि, भोटाहिटी, काठमाडौं
- न्यौपाने, फढेन्द्रप्रसाद (२०२०), जडीबुटीद्वारा किरा नियन्त्रण, साझा प्रकाशन, पुल्चोक,