सारंश
धेरै वर्ष पहिले देखिएको सलह (Schistocerca gregaria) कीरा पुनः पृथ्वीमा माहामारीको रुपमा फैलिरहेको अवस्था छ । अफ्रिकाको मरभूमिबाट फैलिएको यो कीरा हाल पाकिस्तान हुँदै भारत आइपुगेको र केहि समयमा नेपालमा पनि कृषिको मुख्य समस्याको रुपमा देखा पर्ने निश्चित छ । सलह कीरा लाखौं वा करोडौंको संख्यामा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्काे खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो बनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १५० कि.मी. सम्म हुल बनाएर हिड्ने सलह यहीँ हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुइ देखी तीन दिन सम्म उत्तरी सिमाना पार गर्न सक्छ । संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांक अनुसार साधारणतया यो कीराले प्रति दिन दुइ ग्राम सम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५,००० जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ । कीरा नियन्त्रणमा अपनाइने विभिन्न जैविक विधिहरु पनि सलह नियन्त्रणमा अपनाइ रहेको देखिन्छ । तर थोरै भू–भागमा र करेसाबारीमा जालि लगाएर खेति गरेर मात्र सलहबाट बच्न सकिने देखिएको छ भने यो कीरा व्यापक रुपमा फैँलिँदा विभिन्न कीटनाशक विषादी मात्र मुख्य नियन्त्रणको उपाय देखिन्छ । हाल मालाथियन र फेनिट्रोथिएन यो कीरा नियन्त्रणको लागि प्रकोप भएका देशमा सिफारिस गरिएको पाइन्छ । विषादी प्रयोग गर्ने क्रममा मानव स्वास्थ्यमा कम भन्दा कम असर गर्ने विधि अपनाउन सल्लाह दिनु नै उपयुक्त रहन्छ । नेपालमा आउने संभावना उच्च रहँदा गर्दा सलह नियन्त्रणमा भारतले अपनाएको विधिहरु सहित हामीले अपनाउन सक्ने पूर्व तयारीको रुपमा के के गर्न सकिन्छ संघ, प्रदेश र स्थानीय सरकार सजग रहि आवश्यक पूर्व तयारी कै रुपमा मानवश्रोतलाई तालिम र औजारहरुको व्यवस्थापन गर्दै लैजानु पर्ने देखिन्छ । साथ साथै आवश्यकता अनुसार गम्भिर समस्या आएमा कृषकहरुलाई राहतको व्यवस्थाको लागि पनि तयार रहनुपर्ने देखिन्छ ।
पृष्ठभूमि
झण्डै तीस वर्ष पछि महामारीको रुपमा देखा परिरहेको एक प्रकारको फट्यांग्राले (जसलाई नेपालीमा सलह भनिन्छ) तीन महिना अगाडि मात्र पहिलो पटक अफ्रिकी महादेशका केही देशहरु जस्तै केन्या, सोमालीया, तान्जानीया, युगाण्डा, दक्षिणी सुडान, इथियोपियामा खाद्यान्न बालीमा धेरै नै क्षति पुर्याएको तथ्यांक सार्वजनिक नेपालमा सलहबाट हुने संभावित जोखिम तथा नियन्त्रणका लागि गरिनुपर्ने प्रयास भएकोछ । त्यस यता सलह संसारभर द्रुत रुपमा फैलिरहेको अवस्था छ । एशिया महादेशमा पर्ने देशहरु जस्तैः भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति पुर्याउन सुरु गरि सकेको छ । यसलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले locust प्लेगको पनि संज्ञा दिएको छ । अफ्रिका, मध्य पूर्व र एसियाका खाडि देशमा धेरै पहिले देखिएको सलह भन्दा हाल फैलिँरहेको सलहको आकार २० गुणा ठुलो मानिएको छ । सोही अनुसार माथि उल्लेखित देशहरु यसको नियन्त्रणको तयारीमा लागेका छन् । भारत र पाकिस्तान पनि आफ्नो सलह नियन्त्रणमा संयुक्त रुपमा लागि परेका छन् । यिनै कुराहरुलाई मध्यनजर गरि यो सलह कीराको छोटो परिचय र यसले नेपालमा पार्न सक्ने क्षति साथ साथै नेपालमा आगामी दिनहरुमा के गर्न सकिन्छ, त्यस बारेमा विश्लेषण आवश्यक छ ।
सलह कीरा लाखौं वा करोडौंको संख्यामा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । डरलाग्दो कुरा त के छ भने यसले बिरुवाका पातहरु खाएर सकिसकेपछि बिरुवाहरुको हाँगा एवं बोक्रालाई समेत सखाप पार्ने क्षमता भएकाले यो फट्यांग्रा अन्य कीरा भन्दा बढी क्षति गर्ने खालको देखियो । यो कीरा एक दिनमा लगभग १५० कि.मी. सम्म हुल बनाएर हिड्दछ । यहि गतिमा हिड्दा नेपालको पूर्व भागबाट पसेको सलह तीन देखी चार दिनमा पश्चिम भागसम्म पुग्ने देखिन्छ । यहीँ हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुईदेखि तीन दिन सम्म उत्तरी सिमाना पार गर्न सक्छ । यसबाट यो कीराको कृषि बालीमा क्षति गर्न सक्ने क्षमताको आकँलन गर्न सकिन्छ । संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्यांक अनुसार साधारणतय यो कीराले प्रति दिन दुइ ग्राम सम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५,००० जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ । हालसालै भारतमा यो कीराले पाँच लाख हेक्टर क्षेत्रफलमा लगाइएको बालीलाई पूर्ण रुपमा क्षति पुर्याई सकेका अनुमान गरिएको छ । यो कीरा भारतको पन्जाव, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेशमा देखा परिसकेको र ठुलो क्षेत्रफलमा लगाइएको गहुँ, तोरी, कपास, मकै, मसला बालीहरु पूर्णरुपमा क्षति पुर्याइसकेको छ ।
सलह कीराको परिचय
यो सलह साधारण फट्यांग्रा प्रजातिकोनैहो। यसकोसिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । यो सलहको वैज्ञानिक नाम Schistocerca gregaria हो । यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटक सम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चा Nymph को स्वरुप लिन्छ । यी बच्चाहरु १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । वयस्क ४ देखि ५ महिनासम्म बाच्दछ । वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछ भनेर भनिएको छ । यो सलह कीराले न्यानो हावापानि मन पराउँछ र जहाँ बालुवा छ त्यस्तो बालुवा भएको जमिनमा यसले बढी अण्डा पार्न मन पराउँछ । साथै जहाँ समुद्री आँधि Cyclone बढी हुन्छ, त्यस्ता ठाउँमा आँधिका कारण यसलाई टाढा टाढा सम्म उडाउँछ ।
सलहको प्रकोप बढ्नुको कारण
विज्ञहरु यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । यहीँ जलवायुमा भएको परिवर्तनले यिनीहरुको जनसंख्या ८,००० गुणा सम्म बढेको बताइएको हो । बिगतमा पनि यसरी सलहको बढोत्तरी outbreak हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनिहरुको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको देखिन्छ ।
विश्वमा यसको नियन्त्रणमा भए गरेका प्रयासहरु
यो सलह ठुलो संख्यामा र ठुलो क्षेत्रमा ढाकिएर बस्ने भएकोले हाल संसारभर प्रयोगमा आएका आइपिएम प्रविधिहरु जस्तै जैविक विधि, खेतिबारीमा परिवर्तन गरेर गरिने नियन्त्रण, आदि उपयुक्त विधिहरुको खोजि कार्य पनि तिव्र भइरहेको छ । तर तुरुन्तै यसलाई नियन्त्रण वा काबुमा पार्नका लागी सुरक्षित विषादीको प्रयोग नै उचित मानिएको छ । अफ्रिकी देशहरुमा ठुला मेसिन प्रयोग गरेर नै विषादी छर्ने गरेका छन् । कतिपय देशले हेलिकप्टरको साहायताले विषादी प्रयोग गरेको पाइन्छ । केन्याले यस सलहलाई नियन्त्रणका लागी २० वटा जहाज खरिद गर्ने तयारीमा रहेको बताइएको छ । हाल प्रयोगमा आएका विषादीहरुमा मालाथिएन, फेनिट्रोथियन प्रमुख छन् । यो कीराको सम्भावित आगमन अगाडी नै मुल्यांकन गरि बाली बचाउनका लागि विषादी पनि छर्ने गरेको पाइएको छ । कतिपय अफ्रिकी देशले पूर्व अवलोकन (Early Monitoring )यदी एक वा दुइवटा सलह प्रति वर्ग मिटरमा देखिन साथ विषादी छरेर नियन्त्रणमा लिएको पनि पाइएको छ । सोमालियाले सलह कीराको प्रकोपलाई नियन्त्रणका लागि राष्ट्रिय संकट नै घोषणा गरि अघि बढेको छ । छिमेकी देश भारतमा यसको नियन्त्रणका लागि भारतीय कृषि अनुसन्धान परिषद (Indian Council of Agricultural Research) अन्तर्गत स्थायी रुपमा सलहको प्रकोप एवं नियन्त्रण पद्धति (Locust Warning and Control System) गठन गरि यसको निरन्तर रुपमा अनुगमन तथा नियन्त्रणमा लागेको पाइन्छ । साथ साथै भारतको गुजरात र राजस्थान राज्यमा सलह नियन्त्रण कार्यलय (Locust Control Ofces) नै खडा गरी यसको नियन्त्रणका विधिहरु अपनाएको पाइन्छ । गत वर्षको माघ तिर पाकिस्तानले सलहको प्रकोपलाई नियन्त्रण गर्नका लागी राष्ट्रिय संकट घोषणा गरि यसको नियन्त्रणमा अगाडी बढेको छ । सलह नियन्त्रणका लागि चीनले पाकिस्तानलाई १ लाख हाँसहरु पठाएको खबर एकताका संचार माध्यममा छाएको पनि थियो ।
नेपालका यसको प्रकोपको सम्भावना
नेपालमा यस कीराको प्रकोपको सम्भावना कस्तो छ भन्नु भन्दा पहिले यो कीरा छिमेकी देश भारतमा कसरी फैलिएको छ भन्ने जानकारी लिन जरुरी छ । भारतका दुई राज्यहरु राजस्थान र गुजरातमा यो कीरा सर्वप्रथम सन् १९९३–९४ मा देखिएको थियो जुन पाकिस्तानबाट आएको मानिन्छ । ती राज्यहरुमा यसको प्रकोप जेष्ठ महिना देखि असोजसम्म देखिने गर्दछ । सुरुमा गुजरातमा देखिएको सलह हाल राजस्थानमा देखिएको छ जुन ७०० किमि दुरीमा पर्दछ । लगभग ७०० किमि दुरीको सेरोफेरोमा रहेको पन्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा हाल आएर योसलह फैलिन थालिसकेको पाइन्छ । यसले के देखाउँछ भने यो सहलको प्रकोपबाट अब नेपालमा जोडिएका भारतीय भू–भागहरु जस्तै उत्तराखण्ड र उत्तरप्रदेश बढी जोखिम हुने देखिन्छ । यसैगरी यो सलह भारतमा फैलिएमा नेपालको पश्चिमी भाग वा पश्चिम दक्षिण भागबाट छिर्न सक्ने संभावना धेरै नै दखिन्छ । अर्कातर्फ यो कीराको प्रकोप विगत वर्षहरुमा भारतमा असार महिना देखि असोजसम्म देखिने गरेकोमा हाल वैशाख जेष्ठबाट नै प्रकोपको रुपमा देखिएको हुनाले यसले आफ्नो आनुवांशिक गुण बदलेको र यसको वृत्ति विकासका लागि उपयुक्त हावापानी पाउँन थालेको भन्ने बुझिन्छ । अर्कोतर्फ मनसुन सुरु भएको दुइ देखि तीन हप्तासम्म यसको प्रजनन् क्षमता बढी हुने र यी माथि उल्लेखित भारतीय भूमिहरुमा अब मनसुन सुरु हुँदा यसको प्रकोप outbreak बढ्न गई नेपालमा प्रवेश गर्ने सम्भावना बढेको देखिन्छ । नेपाल लगायत संसारका सबैजसो भूभागमा वातावरणीय परिवर्तन भई केही न्यानो बढ्ने हुँदा सलहका लागि उपयुक्त वातावरण हुन गई यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउँन सक्छ र आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न गई नेपालमा जोखिम बढाउने देखिन्छ ।
नेपालमा हामी तुरुन्त के गर्न सक्छौं ?
सलह भारतमा फैलिएको अवस्थालाई हेर्दै गर्दा यो नेपालको पश्चिमी भू–भागबाट छिर्न सक्ने देखिन्छ । यो ठुलो हुलमा धेरै संख्यामा हुने भएकाले यसलाई नियन्त्रण गर्न विषादीहरु नै प्रयोग गर्नु पर्दछ । बाली थन्काउन तयार भएका वा तयारी हुन लागेका बालीहरुलाई कीरा आउनु भन्दा नै अगाडी भण्डारण गरि राख्दा यसको क्षति कम गर्न सकिन्छ । हुनतः विषादी वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि हाम्रो बालीनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको छ। तर विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्यनजर गरि बाली भित्राउनु पर्दछ । विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका (Narrow range) एवं सिफारिस मात्रामा छर्नुपर्दछ । विषादी छर्ने व्यक्तिले आफ्नो शरिरलाई पूर्णरुपमा ढाँकी मुखमा माक्स र चश्मा लगाएर मात्र छर्नुपर्दछ । घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठुलो बारले ढाकेर राख्नुपर्दछ ।
विश्वमा अन्य मुलुकमा यसको व्यवस्थापनमा गरिएका तौर तरिकालाई अध्ययन गर्दा र सो तयारीलाई नेपालमा पनि लागु कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा उल्लेखित विधिहरु प्रयोग गर्नुपर्ने जरुरी देखिन्छ ।
१. पहिले त, यो कीराको छिमेकी देश भारतका राज्यहरुमा कसरी फैलिएको छ, त्यसको tracking गर्नुपर्ने जरुरी देखिन्छ ।
२. नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पुर्यायाउन सक्ने कीराहरुको सुचीमा राखि यस कीराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरुको बारेमा पूर्व तयारी गर्नुपर्ने देखिन्छ ।
३. हाल प्रकोप भइ रहेका अन्य कीराहरु जस्तै अमेरिकन फौजी कीरा, गोलभेँडामा लाग्ने टुटा लगायत अन्य invasive कीराहरुलाई Invasive Insect Management Center को रुपमा विकास गरि कीराको निरन्तर अनुगमन, अनुसन्धान एवं कृषकको स्तरमा प्रसार गर्नुपर्ने देखिन्छ ।
४. नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता कीराहरुको व्यवस्थापनका लागी क्षेत्रिय स्तरमा छलफल एवं सहकार्य बढाउनुपर्ने देखिन्छ । भारत तथा पाकिस्तानमा फैलिसकेको यो कीरा अन्य सार्क मुलुक जस्तै बंगलादेश, भुटानमा फैलन नदिन अपनाउन सकिने जैविक बार लगायत अन्य विधिहरुको बारेमा पनि तत्काल छलफल चलाउनुपर्ने देखिन्छ ।
५. नेपाल भरि छरिएर रहेका विभिन्न सरकारी एवं गैह्र सरकारी संघसंस्था, कृषि अनुसन्धान गर्ने एवं विश्वविद्यालयको सहकार्यमा विज्ञ टिम गठन गरि यसको नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालिन योजनाहरु बनाउनका लागि अब ढिला गर्नु हुँदैन ।
प्रदेश एवं स्थानीय स्तरमा अबको बाटो के त ?
स्थानीय एवं प्रदेश स्तरमा यो कीरा आउने संभावनालाई मध्यनजर गरि कार्ययोजना बनाई अब के गर्न सकिन्छ भनेर एउटा कार्यदल Action team बनाई हाल्नुपर्ने देखिन्छ । ठुलो क्षेत्रफलमा लगाइएको बालीलाई पुग्ने विषादीको जोहो गर्नुपर्ने एवं छोटो समयमा धेरै विषादी छर्ने स्प्रेयरहरुलाई तयारी अवस्थामा राख्नुपर्दछ । यसका लागि हरेका गाउँपालिकामा १० जनाको दरले सुरक्षित विषादी छर्ने व्यक्तिहरु तयारी गर्नका लागि स्थानीय निकायहरु एवं प्रदेशहरु तयारी अवस्थामा हुनुपर्दछ । यदि यो कीरा नेपालमा फैलिहाल्यो र विषादी प्रयोग गर्न सुरु गरिएको खण्डमा धेरै विषादी खपत हुने हुनाले वातावरणमा ठुलो क्षति पुर्याउन सक्ने देखिन्छ र वातावरणीय प्रभाव एवं मानव स्वास्थ्यलाई हुने असरलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने तर्फ पनि ध्यान दिन जरुरी छ ।
आगामी दिनमा स्थानीय एवं प्रदेशले यस्ता प्रकोपहरुबाट बच्नका लागि सम्भावित प्रकोपहरुको बारेमा छलफल एवं छिटो व्यवस्थापन गर्न सके दुर्घटनाबाट बचाउन सकिन्छ । यसका साथ साथै छिमेकी देश भारतका गुजरात एवं राजस्थानमा सलह नियन्त्रण कार्यलयहरु स्थापना भई काम गरि सकेकोले त्यहाँ गरिएका कतिपय व्यवहारिक पक्षलाई पनि अगाँलेर यसको दीगो व्यवस्थापनमा जानुपर्दछ । त्यहाँ कार्यरत सलह विज्ञसँग परामर्श गर्नका लागि संघ एवं प्रदेश स्तरीय संयन्त्र गठन गरि अनुभव आदान प्रदान गर्न तर्फ अघि बढ्नु पर्दछ । विषादी छर्ने मेसिन वा स्प्रेयरहरु ट्रयाक्टरमा जडान गरेर पनि छर्नुपर्ने भएकोले त्यस्ता सामाग्री वा ट्रयाक्टरहरुको स्थानीय स्तरमा लिष्ट तयार गरि ट्रयाक्टर चालकलाई विषादी छर्ने तरिकाबारे तालिमको व्यवस्था गर्नुपर्दछ । कृषकलाई संभावित खतरालाई मध्यनजर राखी केहि विशेष कीराहरु एवं बालीमा आइपर्ने प्रकोपहरुका लागि वा कीराको व्यवस्थापन गर्नका लागि कृषकहरुलाई राहत दिनेतर्फ पनि ध्यान दिनुपर्दछ ।
सन्दर्भ सामाग्री
१. ब्यारुंगा, क्याथारिन. २०२०,How do you ght a locust invasion amid coronavirus? https://www.bbc.com/news/world-africa-52394888
२. इरफान, उमैर र जेन किरबि. २०२० The other plague: Locusts are devouring crops in East Africa and the M i d d l e E a s t h t t p s : / / w w w . v o x . c o m / 2020/5/20/21158283/locust-plague-swarm-outbreakafrica-asia-2020 @), २० मे २०२०
३. अलजजिरा, २०२० Crops destroyes as India faces 'worst locust attack in 27 years' https://www.aljazeera.com/news/2020/05/cropsdestroyed-india-faces-worst-locust-attack-27-years200526160727430.html?fbclid=IwAR1E3KZhitd2gU 6mEdD1mbEk9uAtup1hruK5yI8G5patmF9vJvX6- ubuNV4 २६, मे, २०२०