अमेरिकन फौजीकीरा (Fall armyworm -FAW, Spodoptera frugiperda) अमेरिकाको उष्ण र उपोष्ण क्षेत्रको रैथाने कीरा हो जुन अहिले संसार भर फैलिरहेको छ । अमेरिकन फौजी कीराले मुख्यतया मकै मन पराउछ र मकैलगायत ३५३ विभिन्न प्रजातिका बालीहरु जुनेलो, गहु, कोदो, उखु, घाँसे बालीहरु, तेलहन बाली, काक्रोलगायत लहरे बालीहरु, काउली, गोलभेडा, प्याज, आलु बाली जस्ता तरकारी बालीहरुमा यसले नोक्सानी पुर्याउन सक्दछ ।
सन् २०१५ सम्म अमेरिकामा सीमित रहेको यो कीरा सन् २०१६ मा पहिलोपटक अफ्रिकी देश नाइजेरीयामा पहिचान भई हालसम्म त्यस महादेशका ३० देशहरु र २०१८ को मई महिनामा एशिया महादेशमा भारतको कर्नाटका राज्यमा पहिचान भई हाल सम्म अन्य देशहरु जस्तै बङ्गलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड, इण्डोनेशीया, जापान, कोरीया, लाओस, मलेसीया, चीन, ताइवान तथा यमनमा फेला परि सकेको छ । यस अमेरिकन फौजी कीराले खाद्य सुरक्षामा साथै साना क्षेत्रफलमा खेती गर्ने कृषकहरु बढी जोखिममा पारेको छ । नेपालमा यस कीराको प्रवेश गरेको आधिकारीक पुष्टि मिति २०७६ श्रावण २७ गते बसेको राष्ट्रिय बिरुवा संरक्षण संगठनको १९ औं बैठकले देशका विभिन्न स्थानहरुबाट संकलित नमूनाहरुको डी. एन. ए. परीक्षणबाट प्राप्त नतिजाहरुको आधारमा गरेको थियो । यो कीरालाई मिचाहा फौजी कीरा भनेर पनि नेपालमा चिनिन्छ र नेपालको पूर्वदेखि पश्चिमको पहाडी तथा तराई भू–भागमा लगाइएको मकै बालीमा यो कीराको प्रकोप पाइएको छ । प्रदेश न. १ मा ओखलढुङ्गा जिल्लामा पहिलोपटक अमेरिकन फौजी कीराको प्रकोप रहेको पाइएको थियो ।
मकैको उत्पादन तथा क्षेत्रफल
अन्नबाली अन्तर्गत उत्पादन र क्षेत्रफलको हिसाबले मकै बाली प्रदेश नम्बर १ मा दोस्रो स्थानमा पर्दछ । हिउँदे, वर्षे मकै लगाउने तराई क्षेत्रमा र वर्षे मकै प्राय जसो पहाडी तथा हिमाली क्षेत्रमा लगाउने प्रचलन छ, यसका साथै वैशाख जेष्ठको खडेरीमा मकै उत्पादन नहुने क्षेत्रमा पुन असार साउनमा मकै लगाउने प्रचलन हाम्रो प्रदेश १ को मकै खेती प्रणालीमा छ । मकै विशेष गरेर गाई वस्तु र कुखुराको दाना बनाउनका लागि प्रयोग गरिने र केही अंश खाद्यान्नको रुपमा प्रयोग गरिने भएको हुँदा मकैको माग बढेसगैँ उत्पादन पनि बढ्दो छ । यसका साथै मकै खेती मकै उत्पादनका लागि मात्र नभएर गाई वस्तुलाई खुवाउनका लागि साइलेज बनाउनका लागि पनि मकै खेती गर्ने प्रचलन दिन प्रति दिन बढ्दै गइरहेको छ । व्यवसायिक रुपमा मकै उत्पादन गर्ने प्रवृति वढ्दो क्रममा छ । नेपालमा ८,९१,५८३ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको मा २२,३१,५१७ मे.टन उत्पादन भएको थियो जसमध्ये १८.९५५ तराई र ८१.०४५ पहाडी क्षेत्रले ओगटेको पाइएको छ (stascal informaon, 2017)। आ.व. २०७५/७६ मा प्रदेश न.१ मा हिउदे तथा वर्षे मकै २,७४,५५५ हेक्टर क्षेत्रफलमा लगाइएको थियो र आ.व. २०७४/७५ मा उत्पादन ७,४७,६८४ मे.टन उत्पादनबाट आ.व.२०७५/७६मा ७,७०,९८५ मे.टन पुगेको थियो ।
अमेरिकन फौजी कीराको प्रकोप बढ्नुका प्रमुख कारणहरु
- यो कीराको अण्डा पार्ने क्षमता (Fecundity rate) बढी हुन्छ जहाँ एउटा वयस्क कीराले उसको जीवनकालमा १५०० देखि २००० वटा सम्म अण्डा पार्ने क्षमता हुन्छ ।
- यो कीरा ३५३ प्रजातीका बालीहरुमा आश्रय लिने भएको हुँदा कुनै एक बालीको अभावमा जीवनचक्र अन्त्य हुँदैन ।
- यो कीरा अण्डा पार्नु पूर्व उपर्युक्त स्थानको खोजीमा एक रातमा ५०० कि.मि सम्मको दुरी उड्न सक्दछ ।
- यो कीराको क्षति गर्ने लार्भा अवस्था हो, सामान्यतया ४ वटा लार्भाको अवस्थाहरु पुतली वर्गको कीरामा पाइन्छ तर यो कीराको लार्भाको ६ वटा अवस्थाहरु हुन्छन जुन अत्यन्त खन्चुवा हुन्छन् ।
- यो कीराले मकै वाली लाई ८०–१०० प्रतिशतसम्म पनि क्षति गर्न सक्ने क्षमता राख्दछ ।
- यो कीराको जीवनचक्र वर्षमा २–६ पटक सम्म पनि निरन्तर हुने भएको हुदा क्षति धेरै हुन सक्दछ ।
- हावा पानीमा विवधता भएको हुँदा मकै उत्पादन वर्ष भरिनै कुनै न कुनै स्थानमा लगाइने भएको हुदा कीराको अनुकुलता अनुसार स्थान परिवर्तन गरेर आश्रय लिन सक्दछ ।
- मकैको माग बढे लगत्तै कृषकहरुले हाइब्रिड जातका मकै एकल बाली प्रणालीमा लगाउने प्रवृति बढ्नु जसले गर्दा कीराको वृद्धि हुनमा सहजता हुन्छ ।
क्षति विवरण
यसले शुरुको अवस्थामा मकैको पातमा खाने गर्दछ र विस्तारै लार्भाको बृद्धिसँगै मकैको गुबोका साथै मकैको घोगा र मकैको जुंगामा समेत क्षति गरेको देख्न सकिन्छ । यो कीराले पूरै बाली सखाप पार्न पनि सक्दछ । गत वर्ष पहाडी क्षेत्रमा खडेरीको कारणले मकै नष्ट भएपछि साउन भाद्र महिनामा लगाइएको मकैमा यसको प्रकोप व्यापक रुपमा लागेको पाइयो र २०७६/०६/०१ सम्ममा ओखलढुङ्गा, खोटाङ्ग, उदयपुर, भोजपुर, झापा, पाचँथर गरि छ वटा जिल्लामा २,५६५ हेक्टरमा यसको प्रकोप देखिएको थियो । त्यस्तै गरेर तराई क्षेत्रमा लगाइएको मकैबालीमा पनि यसको प्रकोप व्यापक रुपमा नै पाइयो र क्षति लगभग २,९७० हेक्टरमा पाइएको थियो र अहिले वर्षे मकैमा तराईदेखि पहाडी क्षेत्रहरुमा पनि यसको प्रकोप बढिरहेको पाइन्छ । २०७७ साल वैशाख महिनासम्ममा १०,६३४ हेक्टरमा औसतमा ३२ प्रतिशत क्षति भएको पाइयो र ३२,५४० घरधुरी प्रभावित भएका छन् । तर समयमानै यसको व्यवस्थापनका लागि विषादीहरु प्रयोग गरिरहेको हुदा नियन्त्रणमा नै रहेको पाइएको छ । यो कीराको प्रकोप अहिलेसम्म प्रदेश न.१ को सोलुखुम्वु जिल्ला बाहेक १३ वटा जिल्लाको ८४ वटा स्थानीय तहमा यसको प्रकोप रहेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।
अमेरिकन फौजी कीरा नियन्त्रणका लागि प्रदेश न.१ मा गरिएका प्रयासहरु
- भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको संयोजकत्वमा Rapid Response Team गठन गरिएको छ ।
- कृषि विकास निर्देशनालय मार्फत अमेरिकन फौजी कीरा नियन्त्रणका लागि जनचेतनामुलक सुचना प्रचार प्रसार भइरहेको छ ।
- अमेरिकन फौजी कीराको व्यवस्थापनका लागि फ्याक्टसिट जस्ता सुचना सामाग्रीहरु वितरण भइरहेको ।
- एफ.एम रेडियो तथा टेलिभिजनहरुमा अमेरिकन फौजी कीरा सम्बन्धी चर्चा परिचर्चा हरु भइरहेको छ ।
- कृषि विकास निर्देशनालयको website मा अमेरिकन फौजी कीरा सम्बन्धी जानकारीहरु उपलब्ध गरिएको छ ।
- कृषि विकास निर्देशनालय, बाली संरक्षण प्रयोगशाला र कृषि ज्ञान केन्द्र र केही स्थानीय तहमा रहेका कृषि विकास इकाइहरुबाट कीरा फैलावट भएका स्थानहरुमा निःशुल्क रुपमा विषादी वितरण भएको साथै केही समस्या ग्रस्त स्थानहरुमा पावर स्प्रेयर पनि वितरण भएको छ ।
- कृषि ज्ञान केन्द्र लगायत केही स्थानीय तहहरुमा कीरा नियन्त्रणका लागि Task Force Team गठन गरिसकिएको र पहिचान र व्यवस्थापनका लागि कृषि प्राविधिकहरु परिचालन भइरहेको छ ।
- अमेरिकन फौजी कीरा पहिचान र व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञान कृषि विकास निर्देशनालय, बाली संरक्षण प्रयोगशाला, कृषि ज्ञान केन्द्र र स्थानीय निकायको कृषि विकास शाखाबाट कृषकहरुमा उपलब्ध गरिरहेको छ ।
- एग्रोभेटहरुलाई पनि सिफारिस गरिएका विषादीहरुको उपलब्धता सहज गर्नका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनसँग समन्वय गरी सप्लायर्सहरुलाइ विषादीको उपलब्धता प्रदेश न.१मा बढाउन समन्वय गरिएको छ ।
- कृषि विकास निर्देशनालय र Rapid response Team मार्फत स्थानीय तहमा कृषि विकास इकाइमा कार्यरत कृषि प्राविधिकहरुलाइ अमेरिकन फौजी कीरा पहिचान र व्यवस्थापन सम्बन्धी स्थानीय तह (झापा, मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा र तेह्रथुम) को कृषि प्राविधिक हरुको क्षमता अभिवृद्धि भइसकेको छ ।
- कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, झुम्का र स्थानीय तहवाट कृषकहरुमा सञ्चालन भएका तालिमहरुमा अमेरीकन फौजी कीराको वारेमा जानकारी गरिरहेको छ ।
- Rapid response team बाट समस्या ग्रस्त स्थानहरुको अनुगमन गरि कीरा व्यवस्थापनका प्रयासहरु गरिरहेको छ । – अधिकांश कृषकहरु समस्या उत्पन्न पश्चात एग्रोभेटमा सम्पर्क राख्ने भएको हुँदा हिँउदको समयमा तराइ क्षेत्रमा मकै वृहत रुपमा लगाइने भएको हुँदा तराई क्षेत्रको झापा, मोरङ्ग, सुनसरी, उदयपुर जिल्लाको कृषि ज्ञानकेन्द्रसँग समन्वय गरी त्यस क्षेत्रमा रहेको विषादी विक्रेता (एग्रोभेट) हरुलाई अमेरिकन फौजी कीरा पहिचान गरी सिफारिस गरिएका विषादीहरु उपलब्ध गरि बिक्री वितरण भइरहेको छ ।
- अमेरिकन फौजी कीराको प्रकोप बढिरहेको अवस्थामा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, ललितपुरबाट हिउँदे मकैमा झापा, मोरङ्ग, सुनसरी र उदयपुर गरी ४ जिल्लामा अमेरिकन फौजी कीराको कार्यक्रम Survey, Survillence सञ्चालन भइरहेको छ । – आगामी समयमा पनि यो कीराको समस्या आउन सक्ने भएको हुँदा मकै लगाउने समयबाट नै सावधानी हुनुपर्ने देखिन्छ र Covid-19 को कारणले गर्दा कार्ययोजना बमोजिमको क्रियाकलापहरु अगाडी बढाउन केही कठिनाई भएतापनि समस्या ग्रस्त क्षेत्रहरुमा कीरा नियन्त्रणका लागि अग्रसर रहेको पाइन्छ ।
यो कीरा व्यापक रुपमा लाग्ने र क्षेत्र विस्तार भइरहेको हुँदा कृषिसँग सम्बन्धित सबै साझेदार निकायहरु संघीय कृषि तथा पशुपंछी विकास मन्त्रालय, प्रदेशस्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र स्थानीय निकायहरु, गैह्र सरकारी सस्था, एग्रोभेट र कृषकको सहकार्य र समन्वयात्मक भूमिकाबाट मात्र यो कीरा व्यवस्थापन गर्न सम्भव देखिन्छ ।
सन्दर्भ सामग्रीहरुः
Fall Army worm in Africa, A guide for integrated pest management, CIMMYT. https//www.cabi.org/cpc/datasheet/29810.
मकैवालीमा लाग्ने अमेरिकन फौजीकीरा, अजय श्री रत्न वज्राचार्य, बिनु भाट र डा.प्रेम निधि शर्मा कीट विज्ञान महाशाखा खुमलटार ललितपुर ।