धानको उत्पादन बढाउन नर्सरी व्यवस्थापन हुनु जरुरी हुन्छ । रोपाइँ गर्ने तरिका, सिंचाई, ज्यामी तथा कृषि औजारको उपलब्धता हेरी निम्न १० बुँदाका आधारमा धानको व्यवस्थित ब्याड तयार गर्न सकिन्छ ।
१.जातको छनोट
ब्याड बनाउनु पूर्व आफ्नो क्षेत्रको लागि सिफारिस गरिएको तथा जमिनको अवस्था र पानीको उपलब्धताको आधारमा उपयुक्त उन्नत वा हाइब्रिड जात छान्नुपर्दछ । सुख्खा एवम् डुबानको समस्या हुने खेतको लागि सोही अनुसार सुख्खा र डुबान सहने जातहरु छनोट गर्न सकिन्छ ।
२.जग्गाको छनोट
नर्सरी ब्याडको लागि भरपर्दो सिंचाईको स्रोत भएको, पानीको राम्रो निकास भएको, तथा पारिलो ठाँउ छनोट गर्नुपुर्दछ । विभिन्न जातहरुको मिश्रण हुन नदिन अघिल्लो पटक धान झारेको खेतमा ब्याड राख्नु हुँदैन ।
३.हिले ब्याडको तयारी
एक विघामा धान रोपाइँको लागि आवश्यक स्वस्थ र दरिला बेर्ना उत्पादन गर्न १.५ देखि २ कठ्ठा क्षेत्रफलको ब्याड पर्याप्त हुन्छ । यस्तो ब्याड तल दिइएअनुसार तयार गर्न सकिन्छ ।
- हिउँदे वा बसन्ते बाली काटिसकेपछि खेत दूईपटक जोतेर सम्याउने ।
- ब्याड राख्नुभन्दा कम्तिमा १५ दिन अघि १ देखि २ कठ्ठाको जमिनमा करिब ३ क्विन्टल राम्रोसँग पाकेको गोबरमल वा कम्पोष्ट मल हाल्ने र जोताइसँगै माटोमा मिसाउने ।
- उक्त जमिनमा सिंचाई गरेर १–२ पटक दाँते लगाएर हिल्याउने र सम्याउने । राम्ररी सम्याएको जग्गामा प्रत्येक १.५ मिटरको दूरीमा सानो कुलेसो बनाउने जसले गर्दा ब्याडमा पानी लगाउन तथा पानीको निकास गर्न सजिलो हुनुको साथै बिरुवा हलक्क बढ्छ ।
४.बीउको गुणस्तर
सकेसम्म आधिकारिक बिक्रेताबाट आफूले चाहेको प्रमाणित बिउ किन्नुपर्छ । आफ्नै बीउ प्रयोग गर्ने हो भने बीउ राम्रो उमारशक्ति भएको, सफा (झारपातको बीउ, माटो वा ढुंगा नभएको), शुद्ध (केवल एक जात) र स्वास्थ्य पोटिलो दाना नफुटेको हुनुपर्दछ।
५.बीउ उपचार तथा बीउको तयारी
छर्नु अघि भाँडामा बीउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि उत्रेको सबै दानाहरु हटाउने र बाँकी दानालाई मात्र बीउको रुपमा प्रयोग गर्ने । बीउ तथा बेर्नामा ढुसीको संक्रमण हुन नदिन बीउको उपचार गर्नुपर्दछ । यसका लागि बेभिष्टिन २ ग्राम प्रति केजि वा साफ कार्वेन्डाजिम, म्यानकोजेब ३ ग्राम प्रति के.जि बीउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने । यसरी उपचार गरिएको बीउलाई अंकुरित हुनु दिनु पर्दछ । यसका लागि राम्रोसँग पानीले भिजाइएको जुटको बोरामा ५–६ सेमिको तह बनाई बीउलाई फिजाउने र माथिबाट पानीले भिजेको जुटको बोराले छोपिदिने। करिब २४ देखि ३६ घण्टाको बीचमा बीउ अंकुरित हुन्छ ।
६.बीउ दर र बीउ छर्ने तरिका
बीउ दर उन्नत जातको लागि १०–१६ केजी/कठ्ठा (२५–४० ग्राम/वर्ग मिटर) र वर्णशंकरको लागि ५–६ केजि/कठ्ठा उर्पयुक्त हुन्छ । छिप्पिएको बेर्ना सार्नु छ भने कम बीउ दर (२५–३० ग्राम/वर्ग मीटर अर्थात १०–१२ केजी/कठ्ठा) प्रयोग गर्ने । राम्रोसँग तयार गरेको नर्सरी हिल्याएको माटोमा बीउ टाँसिने गरी हल्का बल गरेर सबैतिर फैलने गरी बट्ठए छर्ने। यसले गर्दा बीउले माटो राम्रोसँग समात्छ र सिँचाई र बाढीको पानीले बगाएर लाँदैन।
७.ब्याड राख्ने समय र बेर्नाको उमेर
- ढिलो पाक्ने जातहरुः वैशाख २०–जेठ १५ सम्म । ३०–३५ दिनको बेर्ना सार्ने ।
- मध्यम अवधिको जातहरु: जेठ १ देखि असार १ सम्म । २५–३० दिनको बेर्ना सार्ने ।
- छिटो पाक्ने जातहरु: जेठ २५ देखि असार १० सम्म । २०–३५ दिनको बेर्ना सार्ने ।
- यदि सिचाईको राम्रो व्यवस्था छ भने १५–२५ दिनका कलिलो बेर्ना रोप्नु राम्रो हुन्छ ।
- डुबानको समस्या भएको ठाँउमा अलि छिप्पिएको बेर्ना: ३०–४० दिनको प्रयोग गर्नु पर्दछ ।
- छोटो अवधिको खडेरी सहने जातको लागि २५ दिने कलिला बेर्ना उपयुक्त हुन्छ ।
८.मलखाद व्यवस्थापन
एक कठ्ठा नर्सरी क्षेत्रफलको लागि ३ किलो पोटास र १ किलो जींक सल्फेट बीउ छर्नु भन्दा पहिले माटोमा मिसाउने । त्यसपछि छरेको १२–१५ दिनमा २.८ किलो युरिया छर्ने । यदि ३० दिन भन्दा बढीको बेर्ना रोप्नु परेमा बेर्ना उखेल्नु भन्दा एक हप्ता अगाडि २.२ किलो युरिया प्रयोग गर्न सकिन्छ । यदि बेर्नाका नँया पातहरु पहेंलिने समस्या देखिएमा फोस्फोरस सल्फेट र पात खिया लागे जस्ता खैरो भएमा जींक स्लफेटको घोल छर्नुपर्दछ ।
९.झारपात नियन्त्रण
धानको नर्सरी ब्याडमा सामा लगायतका अन्य झारपातको समस्या देखिन सक्छ । झार नियन्त्रणका लागि सोफित प्रेटिलाक्लोर ३० इ सी सेफनर ६० ग्राम प्रति कठ्ठाको दरले ५–६ किलो बालुवामा मिसाइ छरेको १–३ दिन भित्रमा व्याडमा पानी जमेको अवस्थामा छर्नुपर्दछ ।
1.सिंचाई
कलिला बेर्नालाई दिउँसोको चर्को घामबाट बचाउन नर्सरीमा बेलुकिपख हल्का सिंचाई गर्ने जसले गर्दा खेत चिसो रहन्छ र दिनमा चर्को घाम लाग्ने बेला पानी जम्न पाउँदैन । बेर्ना उखेल्न सजिलो बनाउन उखेल्नु अघि ब्याडमा पानी लगाउनु पर्दछ ।
सन्दर्भ स्रोत
CIMMYT/CSISA Project