कृषिमा आधारित अर्थव्यवस्था भएका देशहरुले रसायन र उच्च उत्पादन सामाग्री (High Input Agriculture) प्रयोग गर्ने हरित क्रान्तिमा आधारित कृषि प्रणालीहरुको अवलम्बन गरी त्यस्ता उत्पादन पद्धतिहरुबाट कृषि पर्यावरण, प्राकृतिक श्रोत साधन, जैविक विविधता, वातावरण तथा मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभावहरुलाई क्रमशः न्यूनीकरण गर्ने विभिन्न उपायहरुको खोजी हुन लागेको छ । हरित क्रान्तिमा आधारित कृषि प्रणालीहरुको विकल्पको रुपमा विभिन्न देशहरुमा जैविक खेती, एग्रो इकोलोजीकल फार्मिङ्ग, बायोडायनामिक फार्मिङ्ग, वैकल्पिक खेती, प्राङ्गारीक खेती, शून्य बजेट प्राकृतिक खेती (Zero budget natural farming) आदि जस्ता विभिन्न प्रकारका खेती प्रणालीहरु प्रयोगमा आएको देखिन्छ ।
यस आलेखमा पनि छिमेकी देश भारतका कर्नाटक, केरला, हिमाञ्चाल प्रदेश र आन्द्र प्रदेश जस्ता राज्यहरुमा ब्यापक रुपमा शुरु गरिएको शून्य बजेट प्राकृतिक खेतीका आधारभूत सिद्धान्त तथा आधारभूत पक्षहरुका उल्लेख गर्दै नेपाल जस्तो भू–परिवेष्ठित मुलुक जहाँ बाली उत्पादन र पशुपालन ब्यवसाय एकीकृत रुपमा गरिन्छ साथै कृषि उत्पादनका लागि प्रयोग हुने रासायनिक मल र विषादी अन्य मुलुकबाट नै आयात गरिन्छ यस्तो सन्दर्भमा शून्य बजेट प्राकृतिक खेतीको उपादेयताबारे प्रस्ट्याउन खोजिएको छ ।
शून्य बजेट प्राकृतिक खेती भारतको महाराष्ट्रका सुवास पालेकर नामका कृषि विषयमा स्नातक गरेका एकजना कृषकको करिब तीन दशक लामो खोज र अनुभवबाट विकास भएको कृषि उत्पादन पद्धति हो । यस कार्यका लागि भारत सरकारले उनलाई सन् २०१६ मा पद्मश्री पुरस्कारले समेत सम्मान गरेको छ यो पुरस्कार भारतमा गैर सैनिकलाई प्रदान गरिने चौथो ठूलो सम्मान हो । सुवास पालेकर हाल भारतका आन्द्र प्रदेश, हिमाञ्चल प्रदेश र कर्नाटक राज्यहरुमा शून्य बजेट प्राकृतिक खेतीको सल्लाहकारका रुपमा कार्यरत छन् र हाल भारतमा दशौं लाख साना तथा मध्यम किसानहरुले यो उत्पादन पद्धति अवलम्बन गरको विभिन्न पत्रपत्रिका तथा लखे हरुमा उल्लखे छ । भारत सरकारले यस उत्पादन पद्धतिलाई सन् २०१८ मा परम्परागत कृषि विकास योजनाको निर्देशिकामा समावेश गरेको छ । परम्परागत कृषि विकास योजना भारत सरकारले प्राङ्गारिक खेतीलाई सघन रुपमा संचालन गर्न ल्याइएको प्राथमिकता प्राप्त कृषि विकास योजना हो ।
शून्य बजेट प्राकृतिक खेती कृषि पर्यावरणमा आधारित उत्पादन प्रणाली हो र कृषि उत्पादन गर्दा वातावरणमा न्यूनतम नकारात्मक प्रभाव हुनुपर्छ ।
यस प्रणालीमा कुनै पनि वाह्य रासायनिक मल र विषादीको प्रयोग गरिंदैन । माटोमा भएका सुक्ष्मजीवहरुको प्रवद्र्धन तथा नयाँ सुक्ष्मजीवहरुको झोल थप (Multiplication and addition of microbial culture) गरी बिरुवाका लागि आवश्यक खाद्य तत्वहरुको आपूर्ति चक्र व्यवस्थापन गरिन्छ । यसका लागि स्थानीय रुपमा उपलब्ध उत्पादन सामग्री, श्रोत साधन गाईको गोवर, गहुँत, जीवामृत, वीजामृत, मल्चिङ्ग, अन्तरबाली तथा घुम्तीबाली आदिको अवलम्बन गरिन्छ । यस पद्धतिले कृषि पर्यावरणमा उत्पादकत्व, उत्पादनमा स्थायित्व, दीगोपना र क्षमता अनुसार मात्र श्रोत साधनको उपयोग गर्नुपर्नेमा विश्वास राख्दछ । यसबाट बालीहरुको उत्पादन र उत्पादकत्वमा स्थायित्व आउँछ । माटोमा प्राङ्गारिक पदार्थको वृद्धि हुन्छ र माटोको स्वास्थ्यमा सुधार हुन्छ । बालीको उत्पादन लागत कम हुन्छ ।
परिवर्तनको सिद्धान्त (Theory of change)
माटोमा विद्यमान माईकोराईजल ढुसीका रेशा (fungal huphae) तथा करोडौं एल्गी, ब्याकटेरिया, निमाटोड/माटोले संयुक्त रुपमा माटो कार्वन जालो (Soil Carbon sponge) को माध्यमबाट माटोमा भएका बिरुवाका पात पतिङ्गरहरुमा रहेका बिरुवालाई उपलब्ध हुन नसक्ने खाद्य तत्वहरु स्थरीकरण (fixation), घुलनशिलता (Solubilization), खनिजिकरण (Mineralization), विगठन (Decomposition) जस्ता प्रक्रियाबाट बिरुवाले सजिलै लिन सक्ने आवस्थामा पुर्याउँछन् । यसको बदलामा बिरुवाले आफ्नो जरावटा ती सूक्ष्मजीवहरुलाई कार्वोहाईड्रेट उपलब्ध गराउँछ ।
शून्य बजेट प्राकृतिक खेतीका सम्भागहरु
जीवामृत
प्राङ्गारिक पदार्थको विगठन र खाद्यतत्व नविकरणका लागि शुक्ष्मजीवहरुको झोल गाईको गोवर, गँहुत, दालको पिठो, सख्खर र एक मुठ्ठी स्वस्थ्य माटो गड्यौले मल र सुक्ष्म जीवहरुको कार्यमा वृद्धि ।
वीजामृत
गाईको गँहुत बीउ तथा बिरुवा उपचार गर्न प्रयोग गरिन्छ । यसको प्रयोगले बालीको बीउ तथा बेर्नामा सुक्ष्मजीव तथा माटो र बीउ बेर्नामा हानीकारक जीव तथा ढुसीबाट हुने क्षति न्यूनीकरण हुन्छ ।
मल्चिङ्ग
बालीहरुको वायोमासको सघन प्रयोगवाट माटोमा पानीको संरक्षण तथा प्राङ्गारिक पदार्थको नियमित उपलब्धता, माटोमा हावाको मात्रा वृद्धि भई गडयौला तथा सुक्ष्मजीहरुको जनसंख्या वृद्धि ।
घुम्तीबाली र अन्तरबाली
बाली विविधिकरणका कारण खाद्यान्न, कोशेवाली, तेलहन वाली, फलफूल तरकारी उत्पादन र बालीहरुबीच खाद्यतत्वका लागि प्रतिस्पर्धामा कमी तथा माटोमा खाद्यतत्वको नियमित आपूर्तिबाट खाद्यतत्व समाप्त हुने सम्भावना न्यूनीकरण ।
जीवामृत बनाउने तरिका
एउटा ड्रममा २०० लीटर पानी राख्ने त्यसमा १० केजी स्थानीय गाईको गोबर घोल्ने । त्यसमा ५–१० लीटर स्थानीय गाईको गहुँत मिसाउने र दुई केजी सख्खर दुई केजी दालको पिठो थप्ने र एक मुठ्ठी स्वास्थ्य माटो राखी राम्ररी घोल्ने । यसलाई २४ घन्टासम्म फर्मेन्टेशन हुन दिने र ३–७ दिनसम्म छायाँ भएको स्थानमा रहन दिने । यसलाई दैनिक रुपमा लौरोले चलाउनु पर्छ । यसरी तयार भएको जीवामृत बाह्र कठ्ठा वा आठ रोपनी जमिनका लागि पर्याप्त हुन्छ । एक लिटर जीवामृत १० लीटर पानीमा मिसाएर बिरुवामा प्रयोग गर्न सकिन्छ । सिंचाई गरेको समयमा भने सिंचाईको पानीसँग सिधै मिसाएर प्रयोग गर्न सकिन्छ । गाईको पेटमा भएका असंख्य सूक्ष्मजीवहरु गोवर र गहुँतको माध्यमबाट पानी तथा सख्खर र पिठोमा मिसिए पश्चात उनीहरुको संख्या प्रत्येक बीस मिनेटमा दोब्बर हुँदै जान्छन् र तीनै सुक्ष्मजीवले माटोमा प्राङ्गारिक पदार्थको बिलय गरी बिरुवाको जरामा खाद्यतत्व उपलब्ध गराउँछन् । यसको प्रयोगबाट माटोको संरचना र बनोट दुवैमा सुधार हुने हुँदा माटोको उत्पादन क्षमतामा वृद्धि हुन्छ ।
वीजामृत बनाउने तरीका
एउटा ड्रममा २० लीटर पानी राख्ने त्यस्मा ५ केजी स्थानीय गाईको गोबरलाई कपाडमा बाँधेर १२ घण्टासम्म उक्त पानीमा डुबाएर राख्ने। एक लीटर पानीमा ५० ग्राम चुना मिसाई एक रातसम्म राख्ने । अर्को दिन कपडामा बाँधेर राखेको गोबर राम्रोसँग निचोर्ने र गोवरमा भएको सबै कुरा पानीमा मिलाउने । त्यस्मा अघिल्लो दिन तयार गरेको चुन पानी र ५ लिटर स्थानीय गाईको गहुँत मिसाउने र एक मुठ्ठी स्वस्थ्य माटो समेत मिसाई राम्ररी घोल्ने । यसरी तयार भएको वीजामृत विभिन्न बालीको बीउ र बेर्ना उपचारका लागि प्रयोग गर्न सकिन्छ । यो प्रयोग गर्दा कोशेवालीको बिउलाई उपचार गर्दा बीउलाई झोलमा डुबाएर तत्कालै बाहिर निकाली सुकाएर रोप्ने गर्नुपर्छ ।
रोग किरा नियन्त्रणका उपायहरु
अग्नि आस्त्र
गाईको गहुँत, निमको पातलगायत अन्य र खुर्सानीको समिश्रणबाट बनेको झोललाई अग्निआस्त्र भनिन्छ । बीस लिटर गहुँतमा २ केजी नीमको पात, ५०० ग्राम सूर्तिको पात, ५०० ग्राम हरियो खुर्सानीको पेस्ट, २५० ग्राम लसुनको पेस्ट राम्ररी मिसाएर सेलाउँदै उमाल्दै गरी चारपटक उमाल्नुपर्छ । यसलाई सेलाउन दिएपछि ४८ घण्टासम्म राख्नुपर्छ र प्रत्येक १२ घण्टामा राम्ररी चलाउनु पर्छ । यसरी तयार भएको झोल राम्ररी छानेर ३ महिनासम्म प्रयोगमा ल्याउन सकिन्छ । यसरी तयार भएको ६ लीटर झोलालाई २०० लीटर पानीमा मिसाएर बिरुवामा प्रयोग गर्न सकिन्छ । यो चुसुवा किरा र मिलिवग विरुद्ध प्रभावकारी हुन्छ ।
ब्रम्हास्त्र
३ केजी निम पेस्ट, १० लिटर गहुँतमा मिसाउने । त्यसैगरी २ केजी सरिफाको पात, २ केजी मेवाको पात, २ केजी अनारको पात, २ केजी अम्बाको पात टुक्रा पारी पानीमा मिसाउने । यी दुवैलाई मिसाएर सेलाउँदै उमाल्दै गरी पाँचपटक उमाल्नुपर्छ । यसलाई सेलाउन दिएपछि २४ घण्टासम्म राख्नुपर्छ प्रत्येक १२ घण्टामा राम्ररी चलाउनु पर्छ । यसरी तयार भएको झोल राम्ररी छानेर बोतलमा राखी ६ महिनासम्म प्रयोगमा ल्याउन सकिन्छ । यसरी तयार भएको २.२.५ लिटर झोलालाई १०० लीटर पानीमा मिसाएर बिरुवामा प्रयोग गर्न सकिन्छ । यो चुसुवा किरा र फल तथा कोसा खाने किराहरु विरुद्ध प्रभावकारी हुन्छ ।
शून्य बजेट प्राकृतिक खेतीको नेपाली सन्दर्भमा उपादेयता
भारतीय सन्दर्भलाई मध्यनजर गर्दा एउटा कृषि फार्मलाई शून्य बजेट प्राकृतिक प्रणालीमा बदल्न तीन वर्ष लाग्ने देखिन्छ । तर यस उत्पादन प्रणालीमा फार्म बाहिरका उत्पादन सामग्रीको प्रयोग नगरिने भएकोले यसलाई शून्य बजेट वा शून्य लागत खेती भनिएको हो । शुरुमा उत्पादन कम भए तापनि क्रमशः उत्पादनमा बृद्धि हुने उत्पादन लागत एकदमै कम हुने, उत्पादित वस्तु लामो समयसम्म टिक्ने, स्वादिलो हुनुका साथै बजारमा राम्रो माग हुने भएकोले यो उत्पादन प्रणाली अवलम्बन गर्नेको संख्या दिनानुदिन बढ्दैछ ।
यसका अतिरिक्त नेपाल जस्तो भूपरिवेष्ठित मुलुक जो रासायनिक मल र विषादीको लागि अन्य मुलुकसँग परनिर्भर छ, जँहा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेको छ । त्यहाँ यस उत्पादन प्रणाली एकदमै उपयोगी हुन सक्छ । साना आकारका कृषक घरधुरीको संख्या अधिक भएको, पारिवारिक खेती प्रणालीमा आधारित साना तथा मझौला कृषकहरु बाली तथा पशुपालन दुवै कर्महरु गर्ने गरेका र स्थानीय स्तरमा विभिन्न प्रकारका वानस्पतिक जडीबुटीको प्रचुर उपलब्धता भएको हाम्रो जस्तो पहाडी भूगोल बढी भएको देशमा शून्य बजेट वा शून्य लागत खेतीलाई स्वस्थ्य खाद्य वस्तु उत्पादन, वातावरणको संरक्षण तथा रोजगारी सिर्जनाको एउटा सम्भावनाको रुपमा लिई यसै मार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्न सक्ने देखिन्छ । स्थानीय उत्पादन सामग्री, वातावरणमा न्यून क्षति तथा दीगो कृषिमा आधारित प्रणाली भएकोले यसलाई दीगो विकासको एक आयामको रुपमा पनि लिन सक्ने देखिन्छ ।
चुनौति
यस पद्धतिमा जीवामृत, वीजामृत तथा रोग कीरा नियन्त्रणका विभिन्न अस्त्रहरु उपलब्ध भएता पनि मल्चिङ्ग र अन्तरबाली घुम्तीबालीको प्रयोग बारेमा प्रविधि र ज्ञानको विकास भएको छैन जो यस प्रणालीको अभिन्न अङ्ग हो । यस प्रणालीबाट तत्काल प्रचलित उत्पादन प्रणालीमा उत्पादन हुने जति उत्पादन हुन कठिन भएको कारण यसको व्यापक रुपमा विस्तारको सम्भावना न्यून छ । यस प्रणालीका सन्दर्भमा वैज्ञानिक अध्ययन अनुसन्धानको कमी भएकोले सरकारीस्तरबाट यसको प्रचार प्रसारमा कठिनाई छ । कृषि प्रसार कार्यकर्ताहरुमा यस सम्बन्धमा जानकारीको कमी भएकोले तत्कालमा यसको विस्तार गर्न सजिलो छैन ।
सन्दर्भ सामग्री
https://www.youtube.com/watch?v=GvwMm9P3Ejk https://www.greenmylife.in/shop/plantingsupplies/organic-pesticides-for-gardening/agniastra/ http://lcoatips.com/neemastra/ http://apzbnf.in/ https://www.helpfarming.com/2018/12/01/brahmastra/ http://wegopals.com/knowledgeseries/2017/11/22/jeevamrutha-is-devamrutha/ https://agrostar.in/amp/en/maharashtra/article/preparat ion-of-bijamrita-5d023679ab9c8d86248e311b https://www.ceew.in/sites/default/les/CEEW-ZeroBudget-Natural-Farming-and-SDGs-Issue-Brief25Jan18.pdf http://www.fao.org/3/a-bl990e.pdf