७३ सालमा सरकारी जागिर नेपालको पूर्वी पहाडी जिल्ला ओखलढुंगाबाट सुरुवात गर्ने अवसर मिल्यो । युगकवि शिद्धिचरण श्रेष्ठको प्यारो ओखलढुंगा जिल्लाको कृषि विकास कार्यालयबाट जागिर सुरु गरियो । जागिर सुरु गर्दा मेरो स्नातकोत्तर (बाली रोग विज्ञान) अध्ययन करिव आधा–आधिमा थियो, स्नातकोत्तर अध्ययनको मुख्य भाग बाली रोगसँग सम्बन्धित एउटा विषयमा अनुसन्धान गर्नुपर्ने र सो को आधारमा एउटा शोधपत्र (Thesis) तयार पार्नुपर्ने थियो । कुन विषय छान्ने भन्नेमा लामै द्वविधा पश्चात मैले आलुको डढुवा रोग (Late Blight Disease of Potato)मा गर्ने निधो गरें । आलुमा नै अनुसन्धान गर्नका लागि प्रेरित गर्ने कारणहरुमध्ये आलुको धेरै उत्पादन हुने जिल्ला (काभ्रेपलान्चोक)को बासिन्दा तथा म आफैं व्यावसायिक आलुखेती गर्ने परिवारको सदस्य भएको नाताले मैले आलुको बारेमा आपूmले अलि धेरै नै जानेको ठानेको थिएँ । अर्को ओखलढुंगा जिल्लाको उच्च पहाडी क्षेत्रमा खेती गरिने बुङ्ग आलु । मैले आफ्नो जीवनमा त्यसरी आलुखेती गरेको कहिल्यै देखेको थिइन् । आलुमा नै अनुसन्धान गरेकाले बुङ्ग आलुका विषयमा जान्ने मौका समेत पाइयो । यो आलेख यही बुङ्ग आलुसँग सम्बन्धित छ ।
के हो त बुंग आलु?
“बुङ्ग” शब्द शेर्पा भाषाबाट आएको शब्द हो जसको अर्थ “थुप्रो” भन्ने हुँदोरहेछ । सरसर्ती हेर्दा बुङ्ग आलु भनेको “थुप्रो आलु” अथवा “आलुको थुप्रो” पो होकि जस्तो लाग्छ र खासमा पनि त्यस्तै त्यस्तैछ । बुङ्ग आलुको बारेमा राम्रोसँग बुझ्न नपाएकाहरुले यसलाई आलुको कुनै विशेष हिमाली जात हो भनेर समेत भन्ने गरेको पाइन्छ, तर वास्तवमा यो लेकाली क्षेत्रमा आलु खेती गर्ने तरिका हो ।
बुङ्ग आलुको खेती समुन्द्री सतहबाट करिब २५०० मिटरभन्दा माथिका हिमपात हुने क्षेत्रमा मात्र हुने गरेको छ । ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा बुङ्ग आलुको प्रचलन रहेको पाइन्छ । रसुवा जिल्लाको उच्च पहाडी क्षेत्रमा पनि ८कृषि अधिकृत, खाद्य तथा पोषण सुरक्षा आयोजना, सिन्धुपाल्चोक बुङ्गमा आलु खेती हुन्छ भन्ने सुनेको छु तर देखेको चाहिँ छैन । ओखलढुंगा र सोलुखुम्बु जिल्लामा घुमेका र बसेकाहरुले बुङ्ग आलुलाई त्यहाँको कोसेलीको रुपमा अन्यत्र लाने गरेको पनि पाइन्छ र थोरै मात्रामा बाहिरी बजारहरुमा समेत बिक्रिका लागी पठाइने गरेको पाइन्छ ।
बुंग आलु खेती कसरी हुन्छ ?
उच्च हिमाली क्षेत्रमा प्रशस्त घाँसे मैदानहरू तथा कम भिरालो जमिनहरु हुन्छन् । केही व्यक्तिगत, केही पर्ती, तथा केही सामुदायिक छन् । तिनै घाँसे मैदानहरुमा वर्षको डेढ र दुई महिना हिउँ जम्ने भएकाले रुख वा जंगलको विकास हुँदैन तर भुइँ घाँस भने प्रशस्त हुन्छ । तिनै घाँसे मैदानमा चौरी, भेडा र लेकाली बाख्रा चराउने पनि गर्छन तामाङ्ग अनि शेर्पा लगायतका स्थानीय बासिन्दाहरु । बुङ्ग आलु खेती गर्ने जमिनको एउटा प्लटमा एक सिजनको उत्पादन लिएपछी सोही प्लटमा ६/७ वर्षसम्म खेती नगरी बाँझै राख्ने गरिन्छ र अर्को सिजनमा अर्को प्लट प्रयोग गरिन्छ । यसरी बुङ्ग आलु खेती गर्ने किसानको धेरै जमिन हुन्छ र आफ्नो जमिनलाई प्लटहरुमा विभाजन गरी चक्रीय हिसाबले ६/७ वर्षमा एउटा प्लटको पालो आउने गरी खेती गर्ने व्यवस्था मिलाईएको हुन्छ । आफ्नो प्रशस्त जमिन नहुनेले सामुदायिक वा पर्ती जमिनमा आलो–पालो गरेर स्थानीय नियम बमोजिम खेती गर्ने गरिएको पाइन्छ । यसरी छ र सात वर्षसम्म बाँझो छोड्दा घाँसे मैदान विकास हुने र घाँसका जराहरु जमिनमा बाक्लो गरी विकास हुन्छ, सोही घासे मैदानमा पशु चौपायाहरु चराउँदा तिनको मल मुत्र पनि माटोमा जम्मा हुँदै जान्छ जसले त्यो जमिनको प्राकृतिक उत्पाकदत्व विकास गर्न मद्दत गर्छ ।
यसरी ६/७ वर्ष बाँझो छोडिएको जमिनमा कार्तिक र मंसिर महिना लागेपछि (हिमपात सुरु हुनु अगाडि) बुङ्ग खन्ने काम सुरु हुन्छ । बुङ्ग खन्ने भनेको घाँसे मैदानमा घाँसका चपरा काटेर उल्टो पारी पल्टाएर सुकाउने हो । त्यसरी खनेको चपरालाई एक हप्तासम्म सुक्न दिइन्छ र चपरा सुकिसकेपछि नजिक नजिकका चपरा बटुलेर थुप्रो बनाइन्छ र यसरी बनेको घाँसको जराको चपराको थुप्रो नै खासमा बुङ्ग हो । त्यसपछि बुङ्ग पोल्ने काम सुरु हुन्छ । बुकि फुलको बोट प्रयोग गरी बुङ्गमा आगो सल्काएर चपरामा भएका घाँसका जरा र अन्य बल्ने झार बालिन्छ । यसरी बुङ्ग पोल्न ३/४ दिन लाग्छ । आगो निभ्ने, सबैतिर एकनासले नबल्ने आदि हुने हुनाले बुङ्ग पोल्ने क्रममा ध्यान दिएर सबै कुराको ख्याल गर्नुपर्ने हुन्छ । पोलिएको बुङ्गमा रहेका प्राङ्गगारिक पदार्थ जलेर खरानी हुन्छ भने माटो पनि डढेको हुन्छ । पोलिसकेको बुङ्गलाई ४/५ दिन सेलाउन दिइन्छ, सेलाएको बुङ्ग खरानीको थुप्रो जस्तो देखिन्छ ।
यसरी तयारी गरिएको बुङ्गमा रोप्नका लागि तयार गरेर राखिएका स्थानीय जातका आलुका बीउहरु लगेर रोपिन्छ । एउटा बुङ्गमा आकार अनुसार १०/१२ ओटादेखि २०–२५ ओटासम्म आलुका बीउ दानाहरु रोपिन्छ र वरिपरीको माटो जम्मा पारेर पुरिन्छ । बुङ्गमा आलु रोप्ने काम मंसिर अन्तिम साता देखि पौष अन्तिमसम्म सकिन्छ । यसरी आलु रोप्दा माथिल्ला भागहरुमा छिट्टै हिमपात हुने भएकाले छिट्टै रोपिन्छ भने तलका भागहरुमा ढिलो हुने गर्दछ । हिमपात अगाडि नै बुङ्ग खन्ने र पोल्ने काम सकिएन भने त्यो वर्षको बुङ्गमा आलु रोप्ने काम सम्भव हुँदैन । हिमपात भए पश्चात बुङ्गमा आलु उम्रिनका लागि चिस्यान हुन्छ र हिउँ पग्लिदै जाँदा आलु पनि उम्रिदै जान्छ । यसरी रोपिएको बुङ्ग आलुमा रोप्ने काम गरिसकेपछि अरु कुनै पनि काम जस्तै झार उखल्ने, गोड्ने, मल हाल्ने, सिंचाई गर्ने, रोग कीरा नियन्त्रण गर्ने काम गरिंदैन, अझ भन्ने हो भने आवश्यक नै पर्दैन । एउटै बुङ्गमा धेरै विउ रोपिएको हुँदा आलु उम्रिदा झांग उम्रेको जस्तो देखिन्छ तर वास्तवमा धेरै ओटा आलु एकै पटक उम्रेको हो । बुङ्गमा उम्रेका आलु बढेर अग्ला अग्ला हुँदै गएपछि उच्च पहाडी क्षेत्र भएकाले लामो समय सम्म आलुका बोट जिवितै रहन्छन् र ती बोटहरुमा फुल फुल्न थाल्छन् । गुलावी, कलेजी, सेता अनेक थरिका पूmल फुलेका बुङ्ग आलुबारीहरु बगान जस्तै अत्यन्तै मनमोहक देखिन्छन् । यस्तो दृश्य ओखलढुंगा हुँदै सोलुखुम्बु जाने बाटोमा ठाडे भन्ने ठाउँदेखि पत्ताले लगायतका ठाउँहरुमामा जेष्ठ र असार महिनामा देख्न सकिन्छ । रोपेको ६–७ महिना पछी श्रावण र भाद्रमा बुङ्गमा रोपेको आलु खन्न थालिन्छ । एउटा बुङ्गमा आकार हेरी ५/७ किलोदेखि २० किलोसम्म आलु फल्ने गरेको पाइन्छ । बीउ र श्रमबाहेकको अतिरिक्त लगानी बिना यो राम्रो उत्पादकत्व हो ।
यसरी खनेको आलुलाई सिधै बेच्ने पनि गरिन्छ र बाँकी आलु घर लगेर बेच्न र अर्को सिजनको लागि बीउको रुपमा भण्डारण गरिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा आलु एउटा महत्वपूर्ण खानेकुरा हो । विभिन्न स्थानीय परिकारहरु जस्तै रिल्दुक, आलुको ढिंडो, उसिनेकोआलुआदि अन्य परिकारहरु समेत बनाएर वर्षैभरी आलुखाने चलन छ । बुङ्गमा फलेको आलुको सामान्य आलु भन्दा धेरैनैलस्सादार र स्वादिलो हुन्छ जसले गर्दा स्थानीय बजारहरुमा योआलुएकदम लोकप्रिय छ र मूल्य पनि उच्च नै हुनेगर्दछ । चिनजानका मान्छेतथा अतिथिहरुलाई बुङ्गकोआलु कोसेलीको रुपमा पठाउने चलन समेत रहेको छ । स्थानीय रुपमा प्रचलित योअभ्यासलाई प्रमाणीकरण गरी प्रवद्र्धन गर्न सके स्थानीय रुपमा उत्पादित आलुलाई वाह्य बजारहरुमा पु¥याई थप आयआर्जनको श्रोत बन्न सक्छ साथै बुङ्ग आलु बगानहरुका मनमोहक दृश्यहरु प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटनमा पनि वृद्धि गर्न सकिन्छ कि ?